रिक्सामा छुटेको सात लाख फिर्ता…

बाँके । नेपालगञ्ज उपमहानगरपालिका-१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् ।

सोमबार भारतबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका-५ धर्ना दाङ निवासी दत्तबहादुर नाथको रिक्सामा छुटेको रकमसहितको झोला बर्माले मङ्गलबार जिल्ला प्रहरी कार्यालमा पुगेर फिर्ता गरेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

उनका अनुसार रिक्सामा झोला छुटेको जानकारी पाएलगत्तै नाथले सोमबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा जानकारी गराएका थिए । पैसासहितको झोला हराएको खबर पाएको प्रहरीले सडकमा राखिएको सिसी क्यामेराको मद्दतले नाथ चढेको भे १ ह ५०१९ नंको अटोरिक्सा पहिचान गरी चालकलाई खबर गरेपछि रकम फिर्ता भएको हो ।

प्रहरीले रिक्साचालक बर्मालाई सम्पर्क गरी रकमसहितको झोला मगाएको थियो । झोला बोकेर प्रहरी कार्यालय पुगेका बर्माले प्रहरीको रोहवरमा सम्बन्धित व्यक्तिलाई झोला फिर्ता गरेका हुन् । प्रविधिको प्रयोगबाट नगदसहितको झोला हराएको केहीबेरमै फेला पार्न प्रहरी सफल भएको प्रहरी उपरीक्षक रानाले बताए । -रासस

प्रतिक्रिया