यी हुन् दोस्रो बिवाह गर्ने ६ सेलिब्रेटी

काठमाडौं । नेपाली कलाकारहरुको जीवनलाई हेर्ने हो भने त्यति सुखद् देखिँदैन । पछिल्लो समय नेपालमा पनि सम्बन्ध बिच्छेद गर्ने कलाकारहरुको जमात बढ्दो रुपमा देखिन्छ । त्यसो त कलाकारहरुले के–के गरिरहेका छन् त भन्ने कुराहरु जनमासमा निकै नै चासोको विषय पनि बनिरहेको हुन्छ ।

अझ भनौँ सम्बन्ध बिच्छेदका घटनाहरुको बढि प्रचार हुने गर्छ । अहिलेको परिवेशमा हेर्ने हो भने दोस्रो बिवाह गर्ने कलाकारहरु बढ्दो रुपमा देखिन्छन् । अभिनेता भुवन केसी, श्वेता खड्का, निखिल उप्रेती, हरिवंश आचार्य, प्रियंका कार्की, शिव श्रेष्ठ लगायतका चर्चित कलाकारहरूले दाेस्राे विवाह गरेका छन् ।

श्वेता खड्का

चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका हुन् श्वेता खड्का । वि.सं २०७१ साल असार २३ गते स्वर्गीय श्रीकृष्ण श्रेष्ठसँग लगन गाँठो कसेकी थिइन् श्वेताले । सिउँदोमा सिन्दुर भरेको एक महिना बित्दा नबित्दै उनकाे सिउँदोको सिन्दुर पखालिएको थियो । एउटी नारीलाई सिउँदोमा भरिएको सिन्दुर महिना दिन पुग्दा नपुग्दै पुछ्नु पर्दा त्यो भन्दा ठुलो पिडा अरु के हुन् सक्छ ? उनीहरुले अन्तिम पटकसँगै काम गरेको चलचित्र ‘कोहिनुर’ हेर्न नपाउँदै निमाेनियाका कारण ०७१ साउन २५ गते श्रीले प्राण त्यागे ।

श्रीको निधनपश्चात् श्वेतालाई सम्हालिन निकै कठिन भयो । उनलाई त्यो पिडाबाट निस्किन धेरै नै समय लाग्यो । अन्ततः उनी साे पिडाबाट मुक्त भएकी श्वेताले पति श्री गुमाएकाे ६ वर्षपछि पुनः नयाँ जीवनकाे अध्याय सुरु गरेकी छिन् । उनले हिजो मंसिर २२ गते धनगढीका विजयेन्द्र सिंह रावतसँग पुनः लगन गाँठो कसेकी हुन् ।

भुवन केसी

त्यस्तै दोस्रो बिवाह गर्ने अर्का कलाकार हुन् भुवन केसी । नायक केसी सदाबहार नायकको रुपमा परिचित छन् । ‘प्ले ब्वाइ’ का रूपमा समेत चिनिने केसी विगत तीन दशक भन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् । उनकाे नाम चलचित्र क्षेत्रका प्रायः नायिकाहरूसँग जाेडिरहने भएका कारण पनि उनलाई त्यसो भनिएको हो ।

नायक केसीका दुई श्रीमती छन् । उनकाे पहिलाे बिवाह विजयासँग भएकाे थियाे भने दाेस्राे बिवाह उनले सुस्मित बमजनसँग गरेका थिए । अहिले दुवै श्रीमतीसँग डिभाेर्स भइसकेकाे छ । उनी छाेरा अनमाेलसँग बस्दै आएका छन् ।

पछिल्लाे समय उनकाे नाम जिया केसीसँग जाेडिएकाे छ । उनीहरू लिभिङ रिलेशनमा बस्दै आएका छन् । यद्यपी नायक केसीले भने जियासँगकाे सम्बन्धबारे मिडियामा स्वीकार गरिसकेका छैनन् ।

निखिल उप्रेती

नेपाली चलचित्र क्षेत्रमा ‘एक्सन किङ’ का रुपमा परिचत नाम हो निखिल उप्रेती । निखिलले चलचित्र ‘पिँजडा’ बाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् । उनले पनि बहुबिवाह गरेका छन् । उनकाे पहिलाे श्रीमती काेपिला काफ्ले हुन् भने दाेस्राे श्रीमती अभिनेत्री सञ्चिता लुइँटेल हुन् । काेपिलाकाे तर्फबाट एक र सञ्चिताको तर्फबाट दुई सन्तान छन् ।

निखिल र सञ्चिता दुवैको यो दोस्रो बिवाह हो । सञ्चिताले पहिला आकाश शाहसँग बिवाह गरेकी थिइन् । उनी कान्छी श्रीमती सञ्चितासँग काठमाडाैंमा बस्दै आएका छन् । निखिल केहि समय यतादेखि आध्यात्मिक साधना गर्न थालेका छन् ।

हरिवंश आचार्य

वरिष्ठ लोकप्रिय हाँस्य कलाकार हरिवंश आचार्य पनि दोस्रो बिवाह गर्ने सेलिब्रेटीकाे सूचीमा पर्छन् । आचार्यले पनि ८ वर्षअघि  रमिला पाठकसँग दाेस्राे बिवाह गरेका थिए । उनकाे पहिलाे बिवाह बि.सं. २०४० सालमा मीरा आचार्यसँग भएकाे थियाे । मीराकाे २०११ अप्रिल २० मा मस्तिस्कघातबाट मृत्यु भएपछि हरिवंशले रमिलासँग २०६९ असारमा दाेस्राे बिवाह गरेका हुन् ।

प्रियंका कार्की

बोल्ड एण्ड हट नायिका प्रियंका कार्कीले पनि दोस्रो बिवाह गरेकी छिन् । प्रियंकाले अमेरिकामा बस्दा भेटिएका रोचक मैनालीसँग प्रेम बिवाह गरेकी थिइन् । विविध कारणले गर्दा उनले मैनालीसँग सम्बन्ध बिच्छेद गरिन् । पछि २०७६ फागुन १३ गते नायक आयुष्मान देशराज श्रेष्ठ जोसीसँग उनले दोस्रो बिवाह गरेकी हुन् ।

शिव श्रेष्ठ

नेपाली चलचित्र जगतका अर्का नायक शिव श्रेष्ठका पनि दुई श्रीमती छन् । श्रेष्ठले पहिला गंगादेवीसँग बिवाह गरेका थिए भने दाेस्राे बिवाह सिर्जनासँग गरेका थिए । पहिलाे बिवाह के कारणले असफल भयाे भन्ने कुरा उनले आजसम्म खुलाएका छैनन् ।  पहिलो श्रीमतीबाट श्रेष्ठका चार छोरी र एक छोरा छन् भने सिर्जनाबाट एक छोरा छन् ।

प्रतिक्रिया