आयोजनाहरुको म्याद एक वर्ष थप्नुपर्छ : निर्माण व्यवसायी महासंघ

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग गरेको छ । महासंघले १३ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष रवी सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड–१९ का कारण प्रभावित आयोजनाहरुको म्याद एक वर्ष थप्नुपर्ने बताएका हुन् ।

कोभिडका कारण करिब ६ हजार आयोजनाहरु प्रभावित भएकोले सरकारले सबै आयोजनाको म्याद एक वर्ष थप गरिदिनुपर्ने उनले बताए । यस्तै उनले २ हजार ७ सय ७० वटा रुग्ण आयोजनाहरुको म्याद गत फगुन १४ गते एक वर्षका लागि थप गर्ने निर्णय भएकोमा ती आयोजनाहरु पनि कोभिडबाट प्रभावित भएकाले थप एक वर्ष म्याद थपिनुपर्ने माग गरे ।

अध्यक्ष सिंहले गत असारमा म्याद थप गरिएका आयोजनाहरुमा पनि मन्त्रालयबाट टिप्पणी उठाउँदा त्रुटि भई रोकिएकाले त्यसलाई छिटो कार्यान्वयन गर्न तथा कोभिडका कारण विदेशबाट आउनुपर्ने कन्सल्ट्यान्ट आउन नसेको र निर्माण सामग्री आयातमा अझैपनि प्रभाव परिरहेकाले त्यसलाई खुलाउन, निर्माण सामग्रीको उपलब्धता नहुँदा महंगी बढेको भन्दै बजार अनुगमन गर्न माग गरे ।

निर्माण क्षेत्रलाई चलायमान बनाउन आफूहरु आतुर रहेको तर सरकारबाट सहयोग प्राप्त नभएको पनि अध्यक्ष सिंहको भनाइ छ । निर्माण भइरहेका आयोजनाहरुमा छिटो भुक्तानी हुने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहका आयोजनामा समेत भुक्तानीका लागि समन्वय गर्नुपर्ने काममा सरकारले ध्यान दिन नसकेको पनि उनले बताए ।

प्रतिक्रिया