रौतहट बमकाण्ड : अफताब आलमका भाइ भारतबाट पक्राउ

काठमाडौं । राैतहट बमकाण्डका मुख्य अभियुक्त पूर्वमन्त्री एवम् प्रतिनिधि सभाका निलम्बित सांसद माेहम्मद अफताब आलमका भाइ महताब आलम पक्राउ परेका छन् ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएकाे बमकाण्डमा करिब एक दर्जन व्यक्तिकाे ज्यान गएकाे थियाे । घटनाका मुख्य अभियुक्त आफ्ताब यसअघि नै पक्राउ परिसकेका छन् । उनी अहिले डिल्लीबजार जेलमा रहेका छन् ।

उनी  पक्राउ परेकाे एक वर्षपछि उनका भाइ पक्राउ परेका हुन् । उनलाई भारतको मोतिहारीबाट पक्राउ गरेर नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका महताबले दाइ आफ्ताबको योजनामा सबै काम गरेका थिए । १२ वर्ष अघि बम विष्फोटको घटनामा घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको उनीहरूमाथि अभियाेग छ ।

२०६४ चैत २८ मा संविधानसभा चुनावमा धाँधली गर्ने उद्देश्यले आलमले तत्कालीन राजपुर फरहदवा गाविस-४ का शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यसक्रममा विस्फोट भएको थियो । आलमको निर्देशनमा २०६४ सालमा त्रिलोकप्रताप राजपुतसमेतलाई इँटाभट्टामा जिउँदै जलाइएको थियो ।

घटनामा १५/१६ जना घाइते भएको र २/३ जनाको मृत्यु भएको थियो । घटनापछि मृतक र घाइतेलाई इँट्टाभट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा २६ असोज २०७६ मा आलम पक्राउ परेका थिए ।

प्रतिक्रिया