डोटी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो [अपडेट]

काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका निज बालकलाई गाउँपालिका उपाध्यक्ष भगवती बमले उपचारका लागि ल्याउँदै गर्दा उहाँकै काखमा मृत्यु भएको बताइएको छ । उक्त जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या चार रहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको टाउको र ढाडमा गम्भीर चोट लागेको छ ।

उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका-७ का वडासचिव बैतडी सुर्यनया गाउँपालिका-६ मुलखटालीका २८ वर्षीया मञ्जु त्रिपाठी (अवस्थी), निजकी सासु अन्दाजी ६१ वर्षीया डम्बरी अवस्थी, केआइसिंह गाउँपालिका-४ का ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत अन्दाजी ४० वर्षीय हरिनारायण भट्ट छन् ।

यसैगरी घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका-६ का अन्दाजी ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका-१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका-७ का ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने अन्दाजी २६ वर्षीय ग्लोबल बैंकमा कार्यरत टीकाराम गिरी रहेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए राति नै प्रहरी निरीक्षक रवीन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको र घाइते चारै जनाको उद्धार गरी दिपायल पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया