स्थानीय तहमा विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन गरिने

विराटनगर । प्रदेश १ का स्थानीय तहहरुमा विद्युतीय आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन गरिने भएको छ ।

विराटनगरमा आज (शुक्रबार) देखि शुरु भएको अभिमुखीकरणको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सूचना प्रणाली व्यवस्थित नहुँदा समस्या हुने गरेकाे भन्दै आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनका लागि स्थानीय तहका स्वास्थ्य संयोजक र कार्यक्रम हेर्ने फोकल पर्सनलाई इएलएमआईएस सम्बन्धि अभिमुखिकरण शुरु गरिएको बताए ।

तीन तहको सरकारका कारण पनि सूचना प्रणालीमा केही समस्या भएको उनकाे भनाइ छ । मन्त्री घिमिरेले भने,‘कानूनगत समस्याका कारण रिपोर्टिङमा समस्या छ, रिपोर्टिङ प्रकृया झन्झटिलो भएकाले सिधै समन्वका लागि सहजीकरणको प्रबन्ध हुँदै गएको छ ।’ संविधानको भावना र मर्म तीन तहबीच समन्वय, सहकार्य र सहजीकरणको सिद्धान्तलाई तीन तहको सरकारले आत्मासाथ नगरेको मन्त्री घिमिरेको गुनासो छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखा प्रमुख बद्रिनाथ ज्ञवालीले देशभरको सूचना प्रणालीलाई एकद्वार बनाउने नीति अनुसार कार्यक्रम कार्यान्वयन गर्दै लगिएको बताए । उनले ७ वटै प्रदेशमा अभिमुखीकरणको काम भइरहेको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आजदेखि मोरङ, सुनसरी र झापाका तीन जिल्लामा अभिमुखीकरण शुरु भएको छ । आगामी १० दिन भित्रमा १ सय ३७ वटै स्थानीय तहमा कार्यक्रम कार्यन्वयनका लागि अभिमुखीकरण गरिसकिने प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डा. सुरेश महेताले बताए ।

युएस एड जिएचएससी पिएसएम परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा शुरु भएकाे अभिमुखीकरणले पछि आपूर्ती व्यवस्थापनमा सहज हुने डा. मेहताको भनाइ छ । उनले भने, ‘जहाँबाट पनि स्थानीय तहमा रहेको स्वास्थ्य सामाग्री, औषधि लगायतको मौज्दातका वास्तविक जानकारी हुने र दोहोरोपना हट्ने छ ।’

प्रदेश १ का स्वास्थ्य कार्यालयहरु र जिल्ला अस्पतालहरुमा भने विद्युतिय आपूर्ति व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आइसकेको डा. मेहताले बताए । युएसएड जिएचएससी पिएसएम प्रोजेक्टका कन्ट्री डाईरेक्टर म्याक्स कवालिसाले आपूर्ति व्यवस्थापन सूचना प्रणालीले औषधि र औषधिजन्य सामाग्रीको सहि तथ्याङक थाहा हुनुका साथै सुशासन कायम गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानवहादुर बस्नेत लगायतले विद्युतिय आपुर्ती व्यवस्थापन सूचना प्रणालीले तथ्याङ्कमा आधारित निर्णय दिन सहयोग पुग्ने बताए ।

प्रतिक्रिया