अभिनयमा ‘अब्बल’ टिकटक जोडी

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि ‘टिकटकलाई प्रतिबन्ध गर्नुपर्छ’ भन्ने कलाकारसम्म टिकटकमै जमेका छन् । काेराेना भाइरस (काेभिड १९) महामारी भित्रिएसँगै राेजगारी गुमेपछि त कलाकारकाे कला देखाउने मुख्य थलाे नै टिकटक बनिरहेकाे छ । नाम चलेका कलाकार समेत यसैमा झुमिरहेका छन् ।

कसैका लागि टिकटक गीत–संगीत प्रचारप्रसारको माध्यम बनेको छ भने कसैका लागि आफ्नो प्रतिभा देखाउने प्लेटफर्म । कति जनालाई टिकटकले भाइरल बनाएको छ त कतिको भविष्य समेत बनाइदिएको छ भन्दा फरक नपर्ला ! प्रिन्सि–प्रिज्मा, दीपा–दमन्ता, सुधिर श्रेष्ठ, समारिका–स्मारिका यसका पछिल्ला उदाहरण हुन् । उनीहरुले आफ्नो कलामार्फत् नेपालीसँगै विदेशीका समेत मन जितेका छन् भने पछिल्लो समय म्युजिक भिडियोमा समेत राज गरिरहेका छन् ।

यस्तै नै आफ्नो अब्बल अभिनयबाट टिकटकमा दर्शककाे मन तथा ध्यान खिचिरहेका छन् झलनाथ खत्री । उनकाे ‘its khatri vai’ नामक टिकटक अकाउन्टमा उनलाई ८८ हजार बढीले पछ्याएका छन् ।

क्रियटिभ भिडियो कन्सेप्ट तथा जीवन्त अभिनयका कारण वर्षौँ संघर्ष गरेर आएका कलाकारहरुको भन्दा उनको अभिनयमा मन्त्रमुग्ध छन् दर्शकहरु । धेरैले उनको अभिनयको प्रशंसा गर्दै म्युजिक भिडियोमा खेल्न सुझाइरहेका छन् भने कति भिडियो निर्देशक तथा निर्माताहरुले अफर समेत गरिरहेका छन् ।

०००

दाङको बबई गाउँपालिका-३ निवासी झलनाथ हाल काठमाडौंको मैतीदेवीमा बस्छन् । यहाँ उनको परिवारको होटल व्यवसाय छ । उनकाे परिवारमा आमा-बुवा, दाइ, भाइ र हजुरआमा छन् । सामान्य परिवारमा हुर्किएका उनी आर्थिक स्थिति कमजोर भएका कारण कक्षा १२ काे परीक्षा सकाएर रोजगारीको शिलशिलामा भारत गएका थिए ।

सानैदेखि कलाकार बन्ने सपना पालेका झलनाथले भारतकाे एक हाेटलमा काम गर्दै कलाकारिता सिक्ने अवसर पाए । उनी बेलुकी ९ देखि बिहान ९ बजेसम्म हाेटलमा काम गर्थे भने बाँकी समय थियटरमा बिताउँथे । सुत्ने समय जम्मा २-४ घण्टा मात्रै मिल्थ्याे । संघर्ष नै सही, उनकाे सपना साकार हुने क्रममा थियाे, त्यहीबेला लकडाउनकाे हल्ला चल्याे अनि दाङ फर्किए ।

सबै क्षेत्र ठप्प हुँदा लकडाउनकै क्रममा बहिनीको आग्रहमा भिडियो बनाउन सुरु गरेका थिए, बहिनीकै टिकटक अकाउन्टमा । सुरुमा उनलाई टिकटकमा कुनै इच्छा थिएन । पछि विस्तारै राम्रो प्रतिक्रिया आउन थालेपछि उनले आफ्नै टिकटक अकाउन्ट खोले । जब उनले विपना केसीसँग ‘कपल’ भिडियो बनाए तब सर्वत्र चर्चा हुन थाल्यो ।

टिकटकमा त उनको भिडियो रुचाइयो नै, फेसबुकमा समेत उनी फ्यान बटुल्न सफल भए । कला क्षेत्रका चर्चित हस्तीहरूले समेत हाैस्याउने खालका प्रतिक्रिया दिन थाले । त्यसपछि नै हाे, उनलाई नेपाली कला क्षेत्रमा केही गर्नुपर्छ भन्ने ऊर्जा मिलेको ।

उनका भिडियोहरु मौलिक खालका हुन्छन् । त्यसैले पनि धेरैले रुचाएका छन् । उनी ट्रेन्डलाई भन्दा पनि राम्रोलाई फलो गर्छन् । टिकटकमा उनको क्रियसन र मेहनत नाम चलेका कलाकारको भन्दा कम छैन । उनी आफैँ सम्पादन र निर्देशन गर्छन् आफ्नो भिडियो । हेर्दा सामान्य देखिने विषय पनि यथार्थपरक ढंगले उनी आफ्नो कन्सेप्टमा ढालेर उत्कृष्ट बनाउँछन् ।

उनको अभिनयमा सल्यानकी विपना केसीले साथ दिँदै आएकी छिन् । उनको एकल भिडियोलाई भन्दा विपनासँगको भिडियो बढी रुचाइएको छ । उनीहरूले सँगै गरेका सारंगी दाइ, यति राम्राे मुहार हजुर, बास्मती चामलकाे लगायतका भिडियाे चर्चामा छन् । ती भिडियोहरू टिकटकमा लाखौँले हेरेका छन् । प्रतिक्रियाहरु पनि सकारात्मक नै पाएको झलनाथ बताउँछन् । उनी भन्छन्– ‘म ट्रेन्डलाई भन्दा राम्राेलाई फलो गर्छु । धेरैले कला क्षेत्रमा आउन हौसला दिनुहुन्छ ।’

०००

झलनाथ र विपनाकाे भेट तुल्सीपुरमा भएकाे हाे । विपनाकाे घर सल्यान हाे, उनी आमासँग तुल्सीपुर बस्दै आएकी छिन् । विपनाका बुवा विदेशमा रहेको झलनाथले बताए । उनका अनुसार विपना अहिले १२ मा अध्ययनरत छिन् । उनी पढाइसँगै गुडिया बनाउने काम गर्छिन् । ‘दाङमै पहिलेको ठाउँभन्दा अलिकति टाढा हाम्रो नयाँ घर बनाउने काम भइरहेको थियो । त्यतिबेलै हामीले ‘यति राम्रो मुहार हजुर पहिले कहाँ थियो’ भन्ने भिडियाे बनाएका थियाैँ ।’ उनले भने ।

सुरूमा विपनाले अलि अप्ठेराे मानेकी थिइन् भिडियाे बनाउन, चिनजान नभएका कारण । झलनाथले राम्राे बन्याे भने मात्रै टिकटकमा अपलाेड गर्ने भनेपछि भिडियाे खिच्न राजी भएकी थिइन् । तर भिडियाे हालेपछि भाइरल बन्याे । दुई दिनमा मिलियन भ्युज । प्रतिक्रिया पनि राम्रै आयो । उनीहरूकाे ‘रिल’ जाेडीलाई सबैले रुचाए । ‘गीतका सर्जकले समेत फाेन गरेर राम्राे प्रतिक्रिया दिनुभएको थियो । त्यसपछि विपना पनि यसमा अलिकति गम्भीर बनिन् । उनकाे पनि यही क्षेत्रमा केही गर्ने इच्छा छ । पढाइ पुरा भएपछि कला क्षेत्रमा जाेडिने साेच बनाएकी छिन्’, झलनाथले भने ।

यस्तै एकदिन घाेडा लिएर एक जना दाजु गाउँमा सामान बेच्न आएका थिए । त्यतिबेलै झलनाथले ती दाजुलाई पैसा दिएर घाेडामा अभिनय गर्न दिन अनुराेध गरे, ती दाजु पनि राजी भए । घाेडामा खिचिएकाे बास्मती चामलवाला भिडियाेमा पनि उनीहरूले राम्रै प्रतिक्रिया पाएका थिए ।

चट्पटे र सारङ्गीकाे कन्सेप्ट भिडियो बनाउने क्रममा पनि उनीहरूले पैसा दिएरै बनाएका थिए । ती भिडियाे पनि चर्चामा छन् । एक पटक ‘गाला पुक्क’ भन्ने गीतकाे भिडियाे बनाउने क्रममा त उनीहरूले खेतधनीकाे गाली समेत सुन्नु परेकाे थियाे ।

‘हामीले भिडियाे कन्सेप्ट अनुसार सुख्खा खेत खनेर, टाढाबाट पानी ल्याएर खेतमा खन्याएर हिलो बनाएका थियौँ । खेत हिलाे बनाउन मात्रै करिब २ घण्टा लागेकाे थियाे । त्यतिबेलै खेतधनी आए र गाली गरे,’ उनले भिडियो बनाउँदाका क्षण सम्झिए ।

विपनासँग भेट हुनुअघि उनले गाउँकै एक केटी साथी गाेमा वलीसँग भिडियोहरु बनाउने गरेका थिए । पछि गाउँघरतिर उनीहरूबारे नराम्रो कुरा चल्न थाल्याे । घरमा पनि परिवारले गाली गर्न थालेपछि उनले पनि चासो दिन छोडिन् र भिडियाे बनाउन छाेडे ।

भिडियाे बनाउने क्रममा एक पटक त गाेमा बिरामी समेत परेकी थिइन् । ‘गल्ती भए मायाले फकाउनु भन्ने गीतकाे भिडियाे हामीले पानी परेकाे समय खिचेका थियाैँ । त्यतिबेला गाेमा बिरामी रहिछिन् । बिरामी हुँदा पानीमा भिजेर भिडियाे बनाएका कारण उनलाई  निमाेनिया भएछ । त्यतिबेला पनि गाली खाइएकाे थियाे’, उनले भने ।

०००

नेपाली कला क्षेत्रका दयाह्याङ राई, विपिन कार्की, खगेन्द्र लामिछानेबाट प्रभावित झलनाथले भारत जानुअघि बालबालिकालाई सहभागी गराएर भिडियोहरु बनाउने गर्थे । त्यतिबेला ‘यसले गाउँका बच्चाहरु बिगार्यो, कहिले काठमाडौं जाला र आनन्द होला’ भन्थे कतिले । अहिले सबैतिर चर्चा हुन थालेपछि उनीहरुले समेत प्रशंसा गरेको सुन्दा खुशी छन् उनी ।

अहिले उनलाई ‘तपाईँ नेपाली कला क्षेत्रमा आउनुपर्छ’ भनेर प्रशंसकहरुले आग्रह गरिरहेका छन् । भन्छन्–‘अझै पनि मैले कला क्षेत्रका लागि धेरै सिक्नुछ । कलाकारको संघर्ष भन्दा पनि कला हेरिने हो । त्यसैले म कलामा पोख्त भएर मात्रै यो क्षेत्रमा आउन चाहन्छु । राम्रो, चित्तबुझ्दो अवसर आयो भने गर्ने पनि सोचमा छु ।’

टिकटकमा राम्राे पहिचान बनेपछि ‘मेरो गीतको टिकटक बनाइदेऊ, यति पैसा दिन्छु’ भन्ने अफर समेत आउने गरेको उनले सुनाए । यद्यपी मन परेमा पैसा नलिएरै भिडियाे बनाइदिने गरेकाे उनी बताउँछन् । नेपालमा प्रतिभालाई भन्दा भाइरललाई प्राथमिकता दिने गरिएको उनको गुनासो छ ।

केही समयअघि सम्म लकडाउन खुलेपछि भारत जाने सोच बनाएका उनले अहिले दर्शक तथा निर्माता/निर्देशकहरुको प्रशंसा र हौसला पाएसँगै भारत नजाने साेच बनाएका छन् । अब नेपालकै कला क्षेत्रमा केही गर्ने उनकाे याेजना छ ।

उनी भन्छन्- ‘धेरै जनाले कला क्षेत्रमा तिमीले धेरै राम्रो गर्न सक्छौ’ भनिरहनु भएकाे छ । म्युजिक भिडियाेतिर अफर पनि आइरहेका छन् । नेपाली चलचित्र क्षेत्रमा नै केही गर्ने सोच बनाइरहेको छु । अब पढाइलाई पनि निरन्तरता दिन्छु ।’

प्रतिक्रिया