मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

प्रधानमन्त्री पनि अब टिकटकमा, खोले खाता

प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक अकाउन्ट खोलिएको छ ।

पछिल्लो समय युवापुस्ताको मनोरञ्जन तथा उदाउँदा प्रतिभाको जग बनेको टिकटकमा प्रम ओलीको सचिवालयले पनि उनको नामको टिकटक अकाउन्ट खोलेको हो । उनको अकाउन्ट भेरिफाइड समेत भइसकेको छ ।

उनको अकाउन्टमा एउटा भिडियो अपलोड भएको छ, जसमा ७ हजार ५२२ फलोअर्स पुगिसकेका छन् भने २५ हजार बढी लाइक पुगेको छ । उनको पहिलो भिडियो ३ लाख बढीले हेरिसकेका छन् ।

‘नेकपा फुटेपछि ठूलो भाग खान्छु भनेर नसोचे हुन्छ’

नेकपा वरिष्ठ नेता झलनाथ खनाल। फाइल फोटो

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा कुनै पनि हालतमा नफुट्ने ठोकुवा गरेका छन् । सोमबार बिहान गृहजिल्ला इलाम पुगेका नेता खनालले नेकपा फुटेर ठूलो भाग खान पाउँछु भनेर पनि कसैले आश नगर्नु भनेका छन् ।

लामो समयदेखिको नेकपाभित्रको आन्तरिक समस्यालाई देखेर दल विभाजन हुन्छ भनेर प्रतिक्रिया दिनेहरुप्रति इङ्गित गर्दै नेता खनालले भनेका छन्, ‘नेकपा फुटेपछि मैले ठूलो भाग खान पाउँछु कि, मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ । अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउँदैन ।’  नेता खनालले पार्टी फुटको संघारमा पुगेको अड्कलबाजीहरु मिथ्या सावित हुने बताए ।

आउँदो १६ गते केन्द्रीय सचिवालयको बैठक बस्दैछ । गत १३ मंसिरको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको ३७ पृष्ठ लामो प्रतिवेदन र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत २८ कात्तिकको बैठकमा पेश गरेका १९ पृष्ठ लामो प्रतिवेदनमाथि अहिले अध्ययन भइरहेको छ ।

आज एकै साथ ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास

सरकारले अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्न आज एकैसाथ ३९६ स्थानीय तहमा अस्पतालको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै स्थानीय तहहरूमा पाँचदेखि १५ शैयासम्मका अस्पताल निर्माण गर्न लागिएकोे हो ।

यी अस्पताल भवन दुई वर्षभित्र निर्माण सकेर त्यहाँ स्वास्थ्य उपचारका सेवा सुचारू गर्ने गरी तयारी गरिएको छ । स्थानीय तहमा अस्पताल निर्माण गर्न हालै अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि मन्त्रालयले अस्पताल निर्माणमा तदारुकता देखाएको हो ।

५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएपछि शिलान्यास गरिएको हो। पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल बनाउन वहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय भइसकेको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

नेपाल इन्जिनियरिङ कलेज प्रकरणका तीन आरोपी फरार
नेपाल इन्जिनियरिङ कलेजलाई नीजिकरण गर्नेहरु मध्येका चार जना फरार भएका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पक्राउ गरेको थाहा हुने वित्तिकै अन्य चारजना सञ्चालकहरु फरार भएका हुन् ।

फरार हुनेहरुमा तत्कालीन कलेज सञ्चालक समिति सदस्य रामरत्न उपाध्याय, इन्जिनियर लवराज भट्टराई, उपेन्द्र गौतम रहेका छन् । अर्का पूर्व सञ्चालक सुर्यबहादुर केसीको मृत्यु भएको छ ।

नेपाली कांग्रेसका सांसद समेत रहेका केसीको कात्तिक १७ गते पोखरामा मृत्यु भएको हो । सिआइवीले पाँचै जनालाई पक्राउ गर्ने तयारी गर्दागर्दै सांसद केसीको मृत्यु भइसकेको थियो ।

यसअघि गत बुधबार लम्बोदर न्यौपाने काठमाडौँबाट पक्राउ परेका थिए । उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो । सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको बताएका छन् ।

 सोमबार थपिए १,४७४ संक्रमित, थप २९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४७४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

यस्तै आज (सोमबारं) १ हजार ९३१ संक्रमित डिस्चार्ज भएका छन् भने थप २९ जनाको मृत्यु भएको छ । क्वारेन्टिनमा आज ५३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमित संख्या १७ हजार ४२३ रहेको छ ।

आजको थप अपडेटसँगै नेपालमा कोरोना संक्रमित संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । संक्रमितमध्ये २ लाख १४ हजार ५२१ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ५०८ पुगेको छ ।

 काममा फर्किए वीपी प्रतिष्ठानका इन्टर्नहरु
काम छोडेर आनदोलनमा उत्रिएका बीपी प्रतिष्ठानका इन्टर्नहरु आजदेखि काममा फर्किएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्थापन र त्यहाँ आन्दोलनरत इन्टर्न डाक्टर बीच जीवन निर्बाह भत्ताको विषयमा सहमति भएपछि आजदेखि काममा फर्किएका हुन् । सोमबार बिहान सम्पन्न बार्ता मार्फत इन्टर्नहरुले प्रतिष्ठान व्यवस्थापनलाई जीवन निर्वाह भत्तामा सहमत गराएका छन् ।

अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ जना घाइते

सांकेतीक/प्रतिकात्मक तस्वीर।

अछाममा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मंगलसेनबाट धनगढीतर्फ गइरहेको ना४ख ९९७२ नम्बरको बस सोमबार बिहान मार्कुमा दुर्घटना हुँदा साँफेबगर नगरपालिका–३ का १९ वर्षीय नीरज कुँवरको मृत्यु भएको हो ।

घाइतेमध्ये ७ जनाको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालय, अछामका अनुसार बसमा चालकसहित १८ जना थिए । बस सडकबाट तल खसेको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पुस १ देखि भक्तजनका लागि पशुपतिनाथ खुला गरिने
गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ। भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गतेदेखि मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पुस १ गतेदेखि मन्दिर छिर्न चाहने भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्डसमेत कोषले तयार पारेको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए। उनका अनुसार भक्तजनलाई एउटा ढोकाबाट प्रवेश गराई अर्कोबाट निकाल्ने गरी व्यवस्था मिलाइने छ।

कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ११ गते सरकारले बन्दाबन्दीको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिर भक्तजनका लागि पूर्णरुपमा बन्द गरिएको थियो।

इतिहासमै यति लामो अवधि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको वंशावलीलगायत कतै पनि उल्लेख नगरिएको कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डन बताउँछन्।

चैतपछि पशुपतिनाथको नित्यपूजा आरती चलिरहे पनि भक्तजनले विशेष पूजा र दर्शन गर्न भने पाएका थिएनन्।

काठमाडौंमा राजावादीको प्रदर्शन
सरकार असफल हुँदै गर्दा राजतन्त्रका समर्थकहरूले आज (सोमबार) पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

देशभर रहेका पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरुले काठमाडौंको माइतीघर मण्डलामा ‘राजा–जनता एक हौँ’ भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले राष्ट्रिय एकता कायम गरौँ, राजा आऊ देश बचाऊ लगायतका नारा लगाएका थिए । राष्ट्रिय शक्ति नेपालको नेतृत्वमा भएको प्रदर्शनमा राजतन्त्रका समर्थकहरूले राष्ट्रिय झण्डा बोकेका थिए ।

ह्वाइट हाउसको संचार टोलीमा सबै महिला, बाइडेनले भने- ‘गर्व लागेको छ’

अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको संचार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहेकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

बाइडेनले आफूले ह्वाइट हाउसको संचार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन् ।

उनीहरु सबै योग्य, अनुभवी संचार विज्ञ रहेको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताएकी छन् ।

बाइडेनको संचार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछिन् । उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्ने बताइएको छ ।

बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरेकी छिन् । उनले ह्वाइट हाउसको संचार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा बाइडेन र ह्यारिस दुवैलाई धन्यवाद समेत दिएकी छिन् ।

प्रतिक्रिया