नेपाल इन्जिनियरिङ कलेज प्रकरणका तीन आरोपी फरार !, केसीको विगो तीन जनाको भागमा पर्ने

काठमाडौं । सामाजिक संस्थाका रुपमा दर्ता भई सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई नीजिकरण गर्नेहरु मध्ये चार जना फरार भएका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपानेलाई पक्राउ गरेको थाहा हुने वित्तिकै अन्य चारजना सञ्चालकहरु फरार भएका हुन् ।

पक्राउ गर्ने डरले फरार हुनेहरुमा तत्कालिन कलेज सञ्चालक समिति सदस्य रामरत्न उपाध्याय, इन्जिनियर लवराज भट्टराई, उपेन्द्र गौतम रहेका छन् । अर्का पूर्व सञ्चालक सुर्यबहादुर केसीको मृत्यु भएको छ ।

नेपाली कांग्रेसका सांसद समेत रहेका केसीको कात्तिक १७ गते पोखरामा मृत्यु भएको हो । सिआइवीले पाँचै जनालाई पक्राउ गर्ने तयारी गर्दागर्दै सांसद केसीको मृत्यु भइसकेको थियो ।

स्व. सुर्यबहादुर केसी, सांसद नेपाली कांग्रेस

सिआइवीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार अब सुर्यबहादुर केसीको विगो अन्य चार जनाको भागमा पर्नेछ । पाण्डेका अनुसार फौजदारी अपराध अन्र्तगत परेकाले मान्छे मरेपछि मुद्दा पनि लाग्दैन । ‘हामीले पाँचै जनालाई पक्राउ गरे तयारी गरेका थियौं, पोखराका सुर्यबहादुर केसीको त्यसअघि नै मृत्यु भयो, लम्बोदर न्यौपानेलाई पक्राउ गरेपछि अरुलाई पनि पक्राउ गर्न खोजिएको थियो तर, उनीहरु लुकेका छन् ।’ पाण्डेले मकालु खबरसँग भने । सिआइवीले उनीहरुलाई अझै खोजी गरिरहेको छ ।

सिआइवीले लम्बोदर न्यौपानेलाई पक्राउ गर्ने वित्तिकै उसका वकिललाई जानकारी दिएको थियो । न्यौपानेका वकिलले अन्य तीन जनालाई समेत जानकारी दिएकाले उनीहरु लुक्न सफल भएको स्रोतको दावि छ । ‘कानुन अनुसार पक्राउ गरेपछि सम्बन्धीत पक्षको वकिललाई जानकारी गराउनु पर्दो रहेछ । सिआइवीले लम्बोदर न्यौपानेलाई पक्राउ गर्नेवित्तिकै उसको वकिलले अरुलाई थाहा दियो । उनीहरु अहिले घरमा छैनन् ।’ स्रोत भन्छ ।

फरार भएका भनिएका तीन जना भने अहिले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी आदेश खारेज गर्न सर्वोच्चमा गएका छन् । स्रोतका अनुसार उनीहरुले गत बिहीबार नै सर्वोच्चमा पक्राउ आदेश विरुद्ध रिट हालेकोमा आजसम्म सर्वोच्चले कुनै आदेश जारी गरेको छैन ।

स्रोतका अनुसार बिहीबार सर्वोच्चमा पेशी नचढेपछि आइतबारलाई सारिएको थियो तर, आइतबार पनि हेर्न नभ्याएर रिट थन्किएको छ । आज सोमबारका लागि राखिएको पेशी समेत रोकिएपछि उनीहरु लुकेर बसेको स्रोतको भनाई छ । जिल्ला अदालत काठमाडौंले इन्जिनियरिङ कलेज हत्याउने मुख्य योजनाकार लम्बोदर न्यौपानेलाई सात दिन थुनामा राखि अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।

नेपाल इन्जिनियरिङ कलेज प्रकरणका अन्य तीन जना आरोपी रामरत्न उपाध्याय ललितपुर भनिमण्डल, लबराज भट्टराई बालुवाटार तथा उपेन्द्र गौतम विशालनगर बस्ने गर्दछन् ।

नेपाल इन्जिनियरिङ कलेज विवाद प्रकरण मकालु खबरले सुरुदेखि नै खोज अनुसन्धान गर्दै आएको थियो । तत्कालिन कलेज संस्थापकहरुलाई समेत गुमराहमा पार्दै न्यौपानेले कलेजलाई निजीकरण गर्ने प्रयास गरेका थिए ।

यसका लागि न्यौपानेले नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. नामक अर्को निजी कम्पनी समेत दर्ता गरी पुनरावेदन अदालत पाटनबाट फैसला गराएका थिए । पछि संस्थापक अध्यक्ष स्वर्गिय दीपक भट्टराईको सक्रियतामा कलेज सामाजिक संस्थाकै रुपमा सञ्चालन गर्न कानुनी संघर्ष चलेको थियो ।

यस अघि डेढ वर्ष अघि न्यौपानेलाई विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिएको भन्दै ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा छोडेको थियो ।

कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको दाबी गरेका थिए। २०७४ भदौमा कलेज सञ्चालक समितिका अध्यक्ष न्यौपानेबाट दुई पटक गरी पाठकले रकम लिएको आरोप लगाइएको थियो।

याे पनि

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

लम्बोदर न्यौपानेले कलेज हत्याउने सड्यन्त्र गरेको थाहा पाएपछि क्यान्सर रोगले थलिएपनि कलेजका संस्थापक अध्यक्ष प्राध्यापक दीपक भट्टराई, पूर्व उद्योगमन्त्री रहेका हरिप्रसाद पाण्डे सञ्चालक सदस्य सलिल भट्टराईले कानुनी लडाइ लडेका थिए । कलेजका सञ्चालक भट्टराई २०५१ सालदेखि २०६७ सम्म प्रिन्सिपल भएर काम गरेका थिए । पछि आएर लम्बोदर न्यौपानेले कलेज नै निजीकरण गर्ने प्रयास गरेका थिए।

कलेजको नाममा ३६ रोपनी जग्गा रहेको थियो। तत्कालीन चाँगुनारायण गाविसले २०५६ साल पुस १५ मा १७४ रोपनी जग्गा कलेजलाई भोगचलन गर्न दिएको थियो।

प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले रकम उठाएर ३५ लाख रुपैयाँमा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ कलेज स्थापना भएको थियो। २०५१ साल असोज ९ मा त्रिभुवन विश्वविद्यालयबाट कलेजले सम्बन्धन पाए पनि हाल पोखरा विश्वविद्यालयको सम्बन्धनमा छ।

 

प्रतिक्रिया