नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

काठमाडौं । सामाजिक संस्थाको रुपमा दर्ता भएको भक्तपुर दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज बुधबार दिउँसो उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध नेपाल इन्जिनियरिङ कलेजले प्रहरीमा उजुरी दिएको थियो । सीआईबीका निर्देशक डीआईजी सहकुल थापाले उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको बताएका छन् ।

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहँदा संस्थालाई एकलौटी बनाउन ठूलो सड्यन्त्र गरेका थिए ।

उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ । उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ । २ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजिनामा नै दिनु परेको थियो ।

नेपाल इन्जिनियरिङ कलेज विवाद प्रकरण मकालु खबरले सुरुदेखि नै खोज अनुसन्धान गर्दै आएको थियो । तत्कालिन कलेज संस्थापकहरुलाई समेत गुमराहमा पार्दै न्यौपानेले कलेजलाई निजीकरण गर्ने प्रयास गरेका थिए ।

यसका लागि न्याैपानेले नेपाल इन्जिनियरिङ कलेज प्रा.लि. नामक अर्को निजी कम्पनी समेत दर्ता गरी पुनरावेदन अदालत पाटनबाट फैसला गराएका थिए । पछि संस्थापक अध्यक्ष स्वर्गिय दीपक भट्टराईको सक्रियतामा कलेज सामाजिक संस्थाकै रुपमा सञ्चालन गर्न कानुनी संघर्ष चलेको थियो ।

यस अघि डेढ वर्ष अघि न्याैपानेलाई विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिएकाे भन्दै ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा छाेडेकाे थियाे ।

नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको दाबी गरेका थिए। २०७४ भदौमा कलेज सञ्चालक समितिका अध्यक्ष न्यौपानेबाट दुई पटक गरी पाठकले रकम लिएको आरोप लगाइएको थियो।

लम्बाेदर न्याैपानेले कलेज हत्याउने सड्यन्त्र गरेकाे थाहा पाएपछि क्यान्सर राेगले थलिएपनि कलेजका संस्थापक अध्यक्ष  प्राध्यापक दीपक भट्टराई, पूर्व उद्योगमन्त्री रहेका हरिप्रसाद पाण्डे  सञ्चालक सदस्य सलिल भट्टराईले कानुनी लडाइ लडेका थिए । कलेजका सञ्चालक भट्टराई २०५१ सालदेखि २०६७ सम्म प्रिन्सिपल भएर काम गरेका थिए । पछि आएर लम्बाेदर न्याैपानेले कलेज नै निजीकरण गर्ने प्रयास गरेका थिए।

न्याैपानेकाे सड्यन्त्रमा अन्य सञ्चालकहरू इन्जिनियर लवराज भट्टराई, रामरत्न उपाध्याय, स्वर्गिय सूर्यबहादुर केसी, उपेन्द्र गौतमकाे टीमले समेत साथ दिएकाे थियाे । कलेजको नाममा ३६ रोपनी जग्गा रहेको थियो। तत्कालीन चाँगुनारायण गाविसले २०५६ साल पुस १५ मा १७४ रोपनी जग्गा कलेजलाई भोगचलन गर्न दिएको थियो।

प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले रकम उठाएर ३५ लाख रुपैयाँमा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ कलेज स्थापना भएको थियो। २०५१ साल असोज ९ मा त्रिभुवन विश्वविद्यालयबाट कलेजले सम्बन्धन पाए पनि हाल पोखरा विश्वविद्यालयको सम्बन्धनमा छ।

प्रतिक्रिया