‘नेकपा फुटेपछि ठूलो भाग खान्छु भनेर नसोचे हुन्छ’

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा कुनै पनि हालतमा नफुट्ने ठोकुवा गरेका छन् । सोमबार बिहान गृहजिल्ला इलाम पुगेका नेता खनालले नेकपा फुटेर ठूलो भाग खान पाउँछु भनेर पनि कसैले आश नगर्नु भनेका छन् ।

लामो समयदेखिको नेकपाभित्रको आन्तरिक समस्यालाई देखेर दल विभाजन हुन्छ भनेर प्रतिक्रिया दिनेहरुप्रति इङ्गित गर्दै नेता खनालले भनेका छन्, ‘नेकपा फुटेपछि मैले ठूलो भाग खान पाउँछु कि, मैले रोटी सेक्न पाउँछु कि भनेर रोटी नबेल्दा पनि हुन्छ । अहिलेदेखि कसैले रोटी बेल्दैछ भने सेकाउने ठाउँ पाउँदैन ।’

यसैगरी नेता खनालले पार्टी फुटको संघारमा पुगेको अड्कलबाजीहरु मिथ्या सावित हुने बताए । यसैबीच उनले यस प्रकृतिका हल्लाहरु सञ्चारमाध्यमहरुले प्रचार गरेको जिकिर पनि गरे । उनले थपे–‘तर म तपाईँहरुलाई भन्छु नेकपा फुट्दैन । यसलाई कसैले पनि फुटाउन सक्दैन ।’

आउँदो १६ गते केन्द्रीय सचिवालयको बैठक बस्दैछ । गत १३ मंसिरको बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको ३७ पृष्ठ लामो प्रतिवेदन र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत २८ कात्तिकको बैठकमा पेश गरेका १९ पृष्ठ लामो प्रतिवेदनमाथि अहिले अध्ययन भइरहेको स्रोतले बताएको छ ।

नेकपाले १८ मंसिरमा स्थायी कमिटीको बैठक डाकेको छ भने २५ गते केन्द्रीय कमिटीको बैठक डाकेको छ । त्यसभन्दा अगाडि आउँदो १६ गते सचिवालयले दुवै अध्यक्षको प्रस्तावको आधारमा सहमति जुटाउने बताइएको छ ।

९ सदस्यीय नेकपा केन्द्रीय सचिवालयमा अहिले ओली अल्पमतमा परेका छन् । अध्यक्ष दाहालसहित उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ एक कित्तामा उभिएपछि अल्पमतमा परेका ओलीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले साथ दिँदै आएका छन् ।

बादल पूर्वमाओवादी हुन्, यसर्थ उनले अन्तिममा गएर अध्यक्ष दाहाललाई नै साथ दिने बुझिएको छ ।

प्रतिक्रिया