काठमाडौंमा चिनियाँ रक्षामन्त्रीले भने–‘द्विपक्षीय समझदारी कार्यान्वयन गर्न आएको हुँ’

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङले द्विपक्षीय समझदारी कार्यान्वयन गर्न आफू नेपालको भ्रमणमा आएको बताएका छन् ।

नेपालको छोटो भ्रमणमा आएका मन्त्री फेङले राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपाल आइपुगेको बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाल ‘बादल’लगायतका उच्च अधिकारीको स्वागतपछि सङ्क्षिप्त मन्तव्य दिएका मन्त्री फेङ्ले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको पहिलो उद्देश्य भएको बताए ।

त्यसक्रममा उनले भने, ‘भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड १९ का कारण भ्रमणमा केही विलम्ब भयो ।’   रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए ।

चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ रक्षामन्त्री वेइ विशेष विमानबाट काठमाडौं अवतरण गरेका हुन् ।

मन्त्री फेङ नेपालमा ८ घण्टा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया