ट्रम्पले भने- ‘बाइडेनले जितेको प्रमाणीकरण भए म सत्ता छाड्दिन्छु’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा आफूले ह्वाइट हाउस छाड्ने घोषणा गरेका छन् । तर उनले आफ्नो पराजय अझै स्वीकार गरिसकेका छैनन् ।

यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा सहमति जनाएका थिए । राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगे जस्तो देखिन्छ । उनले भनेका छन्, ‘यदि बाइडनले जितेको कुरा इलेक्टरल कलेजले पुष्टि गरेमा उनी ह्वाइट हाउसबाट बाहिरिने छन् ।’

इलेक्टरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ । तर ट्र्म्पले सिधै पराजय स्वीकार गरिसकेका छैनन् । उनले प्रमाण प्रस्तुत नगरेरै मतदानमा धाँधली भएको दाबी दोहर्‍याइरहेका छन् । यसअघि उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुने कुरामा सहमति जनाएका थिए ।

त्यस कामको जिम्मेवारी रहने सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) ले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु पनि गरिसकेको छ । बाइडनले त्यसको स्वागत गरेका छन् । उनलाई राष्ट्रिय सुरक्षाका दैनिक जानकारी दिन थालिएको छ भने राष्ट्रपति निर्वाचित र उनको समूहले पाउने बजेट र साधन स्रोतहरू उपलब्ध गराइएको छ ।

बाइडनले आफ्नो नेतृत्वको सरकार र प्रमुख निकायहरूमा मुख्य जिम्मेवारी दिइने केही व्यक्तिहरूको नाम पनि सार्वजनिक गरिसकेका छन् । ट्रम्पले सिनेटको दोस्रो चरणको प्रतिस्पर्धामा रहेका दुईजना रिपब्लिकनको पक्षमा जोर्जिया राज्यमा शनिवार र्‍याली आयोजना गर्ने जनाए ।

उनीहरूको जीतले माथिल्लो सदनमा रिपब्लिकनको पकड सुदृढ गर्नेछ जसले तल्लो सदनमा जो बाइडनको प्रभावमाथि दबाव सिर्जना गर्न सक्छ । –बीबीसी

प्रतिक्रिया