नेपालमा हाल ७२ जना महिला सरकारी वकिल कार्यरत, दुई जना कार्यालय प्रमुख

काठमाडौँ । नेपालमा हाल ७२ जना महिला सरकारी वकिलहरु कार्यरत रहेका छन् । १ जना सहन्यायाधिवक्ता, १२ जना उपन्यायाधिवक्ता समेत गरी ७२ जना महिला सरकारी वकीलहरु कार्यरत रहेको महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जानकारी दिएका छन् ।

नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै महान्यायाधिवक्ता खरेलले २ जना मात्र महिला सरकारी वकीलहरु ललितपुर र जाजरकोटमा कार्यालय प्रमुखको जिम्मेवारीमा रहेको तर्फ स्मरण गराउँदै महिला सरकारी वकीलहरुलाई कार्यालय प्रमुखको जिम्मेवारी लिइ कार्यसम्पादन गर्न प्रेरित गरेका थिए ।

महान्यायाधिवक्ताको कार्यालयले चालु आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गरी आवधिक रुपमा विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा सोही क्रमलाई निरन्तरता दिंदै मिति अन मंसीर ११ गते विहिबार नेपालमा रहेका महिला सरकारी वकीलहरुको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु भएको छ ।

उक्त सम्मेलनको भर्चुअल माध्यमबाट माननीय महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, लगायत ८० जनाको उपस्थिति रहेको थियो । समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले भौतिक उपस्थितिमा नै सम्मेलनको आयोजना गर्ने गरी तयारी गरिएकोमा कोभिड १९ को महामारीका कारण अनलाईन जूम मार्फत नै यस प्रकारको राष्ट्रिय कार्यशालाको आयोजना गर्न लागिएको जानकारी गराएका थिए ।

यस प्रकारको कार्यशालाले महिला सरकारी वकीलहरुको नेतृत्व क्षमता विकासमा ठुलो टेवा पुग्ने तर्फ इङ्गित गर्दै कार्यशाला सफलताको शुभकामनासमेत दिएका थिए ।

उक्त कार्यशालाको अध्यक्षता सहन्यायाधिवक्ता रमादेवी पराजुलीले गरेकी थिइन् । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उपन्यायाधिवक्ता उर्मिला दाहालले उपस्थितलाई स्वागत गरेकी थिइन् । कार्यक्रम सञ्चालन सहायक न्यायाधिवक्ता रोशी भण्डारीले गरेका थिए ।

दुई दिनसम्म चल्ने उक्त राष्ट्रिय कार्यशालामा सुशासन तथा अभियोजनमा सरकारी वकीलहरुको भूमिका, नेतृत्व र उत्प्रेरणा एवम् सामाजिक भेदभावजन्य कसूर लगायतका विषयमा सर्वोच्च अदालतका न्यायाधीश, महान्यायाधिवक्ता, नायब महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्तारुको समुपस्थितिमा छलफल शुरु भएको छ ।

उक्त राष्ट्रिय कार्यशालामा ७० जना महिला सरकारी वकीलहरुको सहभागिता रहेको छ । कार्यशाला भोली शुक्रबार निष्कर्षहरु जारी गर्दै समापन हुनेछ ।

प्रतिक्रिया