सक्षमताले कम गराउन सक्छ महिलामाथिको हिंसा ! कसरी बन्ने आत्मनिर्भर ?

  • सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । महिला हिंसा विरुद्धको १६ दिने अभियानको आज (बिहीबार) दोस्रो दिन । महिला जागरण सम्बन्धमा आज पनि भर्चुअल माध्यममार्फत् विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको हो, जुन अभियान १६ दिनसम्म चलाइन्छ । महिलाहरु आफ्नो हकअधिकार तथा आफूमाथि हुने लैंगिक हिंसाविरुद्ध सदियौँदेखि लडिरहे पनि हिंसा भने रोकिएको छैन ।

विश्वभरीका प्रत्येक तीनमध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् भन्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । धेरैजसाे हिंसा उनीहरू निकट प्रेमी, जीवनसाथी तथा परिवारबाटै हुने गरेकाे पाइएकाे छ ।

देवीलाई पुज्ने नेपाली समाजमा देवीसमानका छाेरी र छाेराबीच अझै बढी भेदभाव गर्ने गरिन्छ । छाेरीलाई शिक्षा, स्वास्थ्य लागायत आधारभुत कुराहरुबाट समेत बञ्चित गरिएका कयैन् घटनाहरु छन् । उनीहरूमाथि अनावश्यक रूपमा हिंसा हुने गरेकाे पाइन्छ । नेपाली संस्कृति पनि कतिपय महिला अधिकार हनन् गर्ने किसिमका छन् ।

महिला तथा बालबालिकाहरु आफ्नो घरैमा पनि सुरक्षित देखिँदैनन् । उनीहरुमाथि मानसिक, शारीरिक, आर्थिक, यौनजन्य लगायतका हिंसाहरु दिनहुँजसो भइरहेका हुन्छन् । यस्ता हिंसाका घटना हुन नदिनका लागि पीडक र पीडित दुवैमा जनचेतना जगाउनुपर्ने समाजसेवी तथा महिला अधिकारकर्मी मेनुका थापा बताउँछिन् ।

कसरी बनाउन सकिन्छ हिंसामुक्त समाज ?

सामान्य भाषामा महिला हुन् या पुरुष, कुनैपनि मानिसलाई मन नपर्ने कुरा तथा व्यवहार कसैले गर्छ भने त्यो नै हिंसा हो भनेर बुझ्नुपर्छ । महिला अधिकारकर्मी थापाका अनुसार पेशा, अध्ययन, कार्यस्थल, परिवार तथा समाजमा वा कुनै पनि ठाउँमा कुटपिट गर्नु, यौनजन्य दुराचार, डरत्रास, धम्की दिनु, घृणा गर्नु, पारिश्रम नदिनु वा कम दिनु, अश्लिल शब्द बोल्नु आदि सबै लैंगिक हिंसा अन्तर्गत पर्दछन् ।

नेपाल लगायत विश्वका धेरै समाजहरुमा पुरुषभन्दा महिलाहरु विभिन्न प्रकारका हिंसाबाट बढी पीडित भएका कारण लैंगिक हिंसा भन्नेबित्तिकै महिला हिंसा भनेर बुझ्ने प्रचलन छ । कानुनी, सामाजिक, सांस्कृतिक, मानसिक, यौनिक हिंसा भनेर कानुनबाट छुट्याइएको छ । विश्वभरी नै महिलाहरु सामाजिक, सांस्कृतिक, राजनीतिक रुपमा पछाडी परेका छन् । नेपालमा झनै सदियौँदेखि महिलामाथि दमन तथा लैंगिक भेदभाव हुँदै आएको छ ।

‘पछिल्लो समय सुधारका केही प्रयासहरु भएका छन्, कानुनी रुपमा । घरपरिवार तथा समाजमा पनि महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन आउने क्रम जारी छ’, अधिकारकर्मी थापा भन्छिन्, ‘एकदमै भयावह अवस्था नभएपनि २१ औँ शताब्दीमा पनि नेपालमा महिला हिंसा हुन्छ भन्दा चाहीँ लाजलाग्दो परिस्थिति छ । लैङ्गिक असमानता कायमै छन् ।’

यस्तै उनले महिलाबाट महिलामाथि होस् या पुरुषबाट महिलामाथि होस्, हिंसालाई जघन्य अपराध मानिने र हिंसा हुनुहुँदैन भन्ने कुराको पीडक र पीडितमा चेतना आउनुपर्ने बताइन् । उनले भनिन्, ‘हिंसा कदापी स्वीकार्य छैन । हिंसा भएको खण्डमा पुरुष हुन् या महिला, सहेर बस्नु हुँदैन । मैले कसैलाई अन्याय गर्दिन, अरुको अन्याय पनि सहन्न भनि आइलाग्नेमाथि जाइलाग्ने हिम्मत जुटाउनुपर्छ । हिंसा गर्ने आमा, बुवा, दाजुभाइ नै किन नहुन्, सबैलाई कानुनी कठघरामा उभ्याउने साहस जुटाउनैपर्छ ।’

उनले कोही कसैबाट पनि मानवजाति शोषित नहोउन्, थिचोमिचो नहोस् भन्नका लागि व्यक्ति स्वयम् सचेत हुन जरुरी रहेको बताइन् । ‘अहिले हामीले जुन १६ दिन मनाइरहेका छौँ, यो महिलासँग मात्रै सम्बन्धित होइन । सम्पूर्ण मानवजातिको लागि यो १६ दिने अभियानको रुपमा थालनी भएको हाे । हिंसा गर्नेलाई सजाय दिलाउन सके यो आफैँ निर्मुल हुन्छ’, उनले भनिन् ।

सक्षमताले कम गराउन सक्छ महिलामाथिको हिंसा : कसरी बन्ने आत्मनिर्भर ?

सत्तारुढ नेकपाकि केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री भगवती चौधरीका अनुसार जो महिला आर्थिक रुपमा असक्षम छन्, उनीहरुमाथि हिंसा हुने सम्भावना धेरै हुन्छ, धेरैजसो पीडित पनि छन् । आत्मनिर्भरताले हिंसा कम गराउँछ ।

‘जो महिला सक्षम छन्, आफ्ना अत्यावश्यक आवश्यकताका लागि अरुसँग निर्भर हुँदैनन्, उनीहरुमाथि हिंसा हुने सम्भावना कम हुन्छ । दुर्व्यवहार गर्ने, होच्याउने हिम्मत कमैले गर्छन्’, नेतृ चौधरी भन्छिन्, ‘हिंसा भइहाले पनि प्रतिकार गर्न सक्छन् ।’

जो महिला आफ्ना, सन्तान तथा घरका हरेक आवश्यकताको परिपूर्तिका लागि श्रीमान तथा परिवारमा निर्भर हुन्छिन्, उनीमाथि दुर्व्यवहार हुने, होच्याउने, उनीहरुलाई कमजोर ठान्ने काम हुन्छ । श्रीमान् तथा परिवारको आक्रोश सहनुपर्छ । आत्मनिर्भरताका लागि महिलाले सर्वप्रथम घरबाट निस्कने हिम्मत जुटाउनुपर्छ– सिप सिक्नका लागि ।

‘घरको कामसँगै महिलाहरु सिप सिक्नतर्फ पनि अग्रसर हुनुपर्छ । गाउँघरतिर विभिन्न किसिमका तालिमहरु आइरहेका हुन्छन् । त्यसको खोजी गरी, सहभागी हुनुपर्छ । तालिपछि सिकेका सिपको सदुपयोग गर्ने, बजार खोज्ने लगायतका काममा सक्रियतापूर्वक लाग्नुपर्छ’, उनको भनाइ छ ।

उनीहरुको आँट तथा साहसमा परिवार तथा राष्ट्रले पनि हौसला दिनुपर्ने उनी बताउँछिन् । ‘अहिले तीन तहका सरकार छन् । सरकारले महिला सिपमुलक तालिमहरु ल्याउनुपर्छ । आत्मनिर्भर बन्न जनचेतना जगाउने, आर्थिक सहुलियत दिने, लगायतका कामहरु गर्नुपर्छ’, उनले भनिन् । स्थानीय तहमा महिला शशक्तिकरण तथा अभिमुखीकरणका लागि बजेटहरु विनियोजन भइरहेको हुने भन्दै उनले यसबारे महिलाहरुले पनि सक्रिय रुपमा लागेर आफ्नो अधिकार खोज्नुपर्ने बताइन् ।

६ महिनामा १, ३३८ जबरजस्ती करणी, चार हजार ९६५ घरेलु हिंसा

पछिल्लो ६ महिनामा (०७७ वैशाख–असोज) मा देशभर जबरजस्ती करणीका १ हजार ३३८ केस प्रहरीमा दर्ता भएका छन् । लैंगिक हिंसासम्बन्धी अपराधको प्राप्त तथ्यांक अनुसार ६ महिनाको अवधिमा ४ हजार ९६५ घरेलु हिंसाका केस दर्ता भएको छ । सबैभन्दा बढी जबरजस्तीका घटना प्रदेश १ मा घटेका छन् भने घरेलु हिंसाका घटना लुम्बीनी प्रदेशमा बढी छ ।

यस्तै बोक्सीको आरोपमा असोज महिनामा मात्रै ९ जनामाथि हिंसा भएको छ । ६ महिनामा ३२ जना महिलामाथि बोक्सीको आरोपमा कुटपिट भएका छन् । यस्तै असाेज महिनामा गर्भपतनका ३, जातिय छुवाछुतका १०, अप्राकृतिक मैथुनका १, बालयाैन दुराचार/दुरूपयाेगका २७, बालबिवाहका ९, बहुबिवाहका ९२ र जबरजस्ती करणी उद्याेगमा ७४ केसहरू दर्ता भएका छन् । अपहरण ज.ज.क का ४ र जबरजस्ती करणी गरी कर्तव्य ज्यान मुद्दामा १ घटना दर्ता भएका छन् ।

अहिलेको सन्दर्भम महिला हिंसा न्युनिकरण गर्न तथा अन्त्य गर्न कानुनी कारवाहीलाई कडाइका साथ अगाडी बढाउने प्रयास भइरहेकाे नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवर बताउँछन् । उनका अनुसार सामान्य देखि जघन्य खालका हिंसाहरु हुन्छन्, र त्यसमा कानुनअनुसार तथा कानुनलाई आधार मानेर कारवाही गर्ने गरिन्छ । 

‘महिला हिंसा न्युनिकरणका लागि मुख्यतया महिला शशक्तिकरणका तालिमहरू आयोजना गर्ने, चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने,  पीडित र पीडक सबैलाई सचेत तथा सतर्क बनाए हिंसामुक्त समाज बनाउन सकिन्छ’, उनले भने ।

प्रतिक्रिया