‘किशोर प्रधानको टीम इतिहासकै राम्रो टीम हो’ (भिडियो सहित)

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको निर्वाचनमा किशोर प्रधानको प्यानलबाट केन्द्रीय सदस्यमा उठेका अरूणराज सुमार्गीले महासंघको निर्वाचनमा हुने ठेक्कापट्टाको प्रक्रियाको विरुद्धमा आफु सक्रिय रहेको बताएका छन् ।

महासंघलाई सुदृढीकरण र सुद्धिकरण गर्दै अगाडी बढाउनका लागि आफ्नो उम्मेद्वारी भएको बताउँदै महासंघलाई आगामी १० वर्षभित्र बलियो संगठन बनाउनका लागि पनि किशोर प्रधानलाई जिताउनु पर्ने बताए । ‘किशोर प्रधानको महासंघमा २८ वर्षको इतिहास छ । उनको धरहरा जस्तो उचाईले नै महासंघलाई अगाडी बढाउन सक्छ ।’

सुमार्गीले पहिले आफु चन्द्रप्रसाद ढकालको प्यानलबाट उपाध्यक्षको दावेदार भएपनि ढकाल पक्षले आफ्नो अवमुल्यन गरेकाले प्रधानको प्यानलबाट उठेको बताए । ‘महासंघमा लगातार १०–१२ पल्ट भर दिने टीम मैले पाएको छु, यो टीम इतिहासकै राम्रो टीम हो ।’ सुमार्गीले भने ।

उनले अहिले महासंघमा एक प्रकारले ‘ध्रुवे’ हात्तिको आतंक भएको पनि दावि गरे । ‘अहिले महासंघमा ध्रुवे हात्तिको आतंक चलेको छ । जसले जिल्ला र प्रदेशमा रहेका उद्योगी व्यवसायीलाई विभिन्न प्रकारले धम्क्याउने सम्मको काम गरिरहेको छ । चुनाबको लागि काँटा र तराजु लिएर कति मुख्य यता राखेर कसलाई बनाउने ? भन्ने नीतिको विरुद्धमा जानुपर्छ ।’ उनले भने ।

सुमार्गीले किशोर प्रधानसँगको टीमसँग आगामी १० वर्षभित्र महासंघलाई अगाडी बढाउने ‘रोडम्याप’ रहेको पनि बताए । मुलुकको अर्थतन्त्र सुधार्न र कृषि क्षेत्रको विकासका लागि अब महासंघले योजनाबद्ध कार्यक्रम गरेर अगाडी बढ्नु तथा सरकारसँग पनि प्रतिपक्षको भूमिकामा लविङ गर्न सक्ने हैसियतमा जानु पर्ने उनको तर्क छ ।

‘हामी आजपनि आदिमकालको परिवेशमा छौं, यसलाई बदल्न पर्छ । यो खालको अवस्थाबाट बाहिर निस्कनको लागि हामीले किशोर प्रधानलाई नै साथ दिनुपर्छ ।’ सुमार्गीको भनाई छ ।

संगठनलाई सुदृढिकरण र सुद्धिकरण गर्ने अभियानमा विस्वास गर्ने आधार भनेकै टीममा भएका विज्ञहरुका कारण रहेको उनको भनाई छ । ‘यो टीममा सबै क्षेत्रको विज्ञ व्यक्तिको रुपमा रहेकाहरु छन्, किशोर प्रधानसँग महासंघलाई दिने पर्याप्त समय छ, शेखर गोल्छासँग राज्यसँग कुरा गर्ने पहुँच र पैसा समेत छ । त्यसमाथि जिल्ला, नगरबाट आएका पनि अनुभवी सम्बन्धित विषयमा खारिएकाले आशा गर्ने ठाउँ छ ।’

सुमार्गीले किशोर प्रधानको टीमको १० वर्षे योजनामा त्यसपछि महासंघलाई नेतृत्व प्रदान गर्ने टीम समेत तयार गर्ने हैसियत रहेको बताउँदै यस पटक हाम मतदातालाई निर्धक्क भएर प्रधान टीमलाई भोट हाल्न अनुरोध गरेका छन् ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया