रत्नपार्कको नाम फेरिएको प्रति राप्रपाको आपत्ति, महानगरलाई बुझायाे ज्ञापनपत्र

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडाैंले रत्नपार्ककाे नाम परिवर्तन नगर्न सुझाव दिँदै ज्ञापनपत्र बुझाएकाे छ । रत्नपार्ककाे नाम परिवर्तन गरिएकाेमा आपत्ति जनाउँदै राप्रपा काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा मंगलबार महानगरलाई ज्ञापनपत्र बुझाइएकाे हाे । ज्ञापनपत्र महानगरका कार्यकारी प्रमुख राजेश्वर ज्ञवालीले बुझेका छन् ।

काठमाडौं महानगरपालिकाले श्री ५ महेन्द्रको जीवनसंगिनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन बिताई रहेकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

साथै राष्ट्रिय विभूति शंखधर साख्वा अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र नभएको बताइएको छ । शङ्खधर साख्वाको नाममा नयाँ ठाउँमा भब्य पार्क बनाउनु पर्ने राप्रपाको माग रहेको छ ।

दुई दिनअघि मात्रै राप्रपा अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत भएकाे बताएका थिए । जवरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुने उनले चेतावनी समेत दिएका थिए । उनले भनेका थिए, ‘रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ।निर्णय पुनर्विचार गरियोस्।द्वन्द निम्त्याउने काम नहोस् ।’

प्रतिक्रिया