कोरोना संक्रमणबाट ३३ वर्षीय सशस्त्र प्रहरी निरीक्षकको मृत्युु

विराटनगर । कोरोना संक्रमणबाट एक सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । मोरङको बुढीगंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेड क्वार्टर कंकालिनीमा कार्यरत् सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

विराट मेडिकल तथा शिक्षण अस्पतालमा ३३ वर्षीय इन्सपेक्टर नवीन बुढाथोकीको सोमबार राति ११:२२ बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमणले अवस्था गम्भीर बन्दै गएपछि पछिल्लो समय बुढाथोकीको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । उपचार गराइरहँदा स्वास्थ्यमा समस्या थपिँदै गएपछि उनलाई सुरुमा आईसीयूमा राखिएको थियो । स्वास्थ्य खराब बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको भएपनी उनलाई बचाउन नसकिएको देवले बताए । उपचारका क्रममा बुढाथोकीको दुई पटक प्लाज्मा थेरापी गरिएको थियाे भने १० पटकसम्म रेम्डिसिभिर नामक औषधि पनि चलाइएको देवले बताए ।

‘सुरुमा अस्पताल आउँदै उहाँको अवस्था गम्भीर बनिसकेको थियो । दुई पटक प्लाज्मा थेरापी विधिबाट उपचार गर्दै १० पटकसम्म रेम्डिसिभिर औषधि पनि दिइयो, भेन्टिलेटरमा राखेर उपचार गर्दै सक्दो बचाउने कोशिस गर्याैँ । तर पनि बताउन सकिएन’, उनले भने ।

उनका अनुसार कोरोना संक्रमणसँगै सुरुमा अस्पताल भर्ना हुँदादेखि नै फोक्सोमा समस्या देखिएको थियो । भनेटाइफाइटको पुरानै समस्या रहेका इन्सपेक्टर बुढाथोकीले त्यसको औषधि पनि नियमित सेवन गरिरहेका थिए ।

शवको विराटनगरस्थित परोपकार घाटमा मंगलबार धार्मिक संस्कार अनुसार मृतक बुढाथोकीको काकाले अन्त्येष्टि गरेका छन् । सशस्त्र प्रहरी वल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले इन्सपेक्टर बुढाथोकीको निधनले सिंगो संगठनलाई क्षति पुगेको बताएका छन् ।

प्रतिक्रिया