राप्रपाले भन्यो- ‘मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य अस्विकार्य छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरको निर्णयप्रति आपत्ति जनाएका छन् । राप्रपाका तीनवटै अध्यक्ष (पशुपतिशम्शेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापा)ले विज्ञप्ति जारी गर्दै रत्नपार्कलाई ‘शंखधर उद्यान’ नामाकरण गरिएकोमा आपत्ति जनाएका हुन् ।

शनिबार रानीपोखरी दक्षिण र टुँडिखेल उत्तरमा रहेको रत्नपार्कलाई ‘शंखधर उद्यान’ नामाकरण गरिएको थियो । काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्णकदको सालिक निर्माण गरेसँगै नयाँ नामाकरण गरिएको हो । यसअघि उक्त स्थानलाई राजा महेन्द्रकी पत्नी रानी रत्नको नाममा ‘रत्नपार्क’ राखिएको थियो ।

‘रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय गलत भएको भन्दै इतिहास मेटाउने कार्य अस्वीकार रहेको राप्रपाको ठहर छ । ‘मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्न पार्कको नाम बदल्नु दुई कारणले अनुचित ठान्दछौं,’ तीनवटै अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोश्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमुल्यन गरेको छ ।’

संखधर शाख्वाको योगदानको सम्मान गर्न हाल भईरहेको संरचनाको नाम परिवर्तन गरेर होइन, संखधरको नाम राखेर नयाँ बनाउनु पर्छ भन्ने आफ्नो मान्यता रहेको राप्रपाले बताएको छ । महानगरपालिकाले रत्नपार्कको नाम बदल्ने निर्णय अविवेकी र गलत रहेको भन्दै राप्रपाले भनेको छ- ‘संखधरको नामबाट अझ भब्य साँस्कृतिक/ऐतिहासिक संरचना बनाइयोस् त्यस बखत मात्र उनीप्रति हामीले सहि रुपमा सम्मान गरेको ठहरिनेछ ।’

प्रतिक्रिया