रत्नपार्कको नाम परिवर्तन केका लागि ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरको निर्णयप्रति आपत्ति जनाएका छन् । शनिबार रानीपोखरी दक्षिण र टुँडिखेल उत्तरमा रहेको रत्नपार्कलाई ‘शंखधर उद्यान’ नामाकरण गरिएको थियो ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय विभूति शंखधर साख्वाको पूर्णकदको सालिक निर्माण गरेसँगै नयाँ नामाकरण गरिएको हो । यसअघि उक्त स्थानलाई राजा महेन्द्रकी पत्नी रानी रत्नको नाममा ‘रत्नपार्क’ राखिएको थियो ।

अध्यक्ष थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय गलत भएको भन्दै इतिहास मेटाउने कार्य अस्वीकार रहेको चेतावनी दिएका छन् । उनले तुरुन्त निर्णय सच्याउन महानगरलाई आग्रह गर्दै द्वन्द ननिम्त्याउन समेत अनुरोध गरे ।

थापाले ट्वीटरमा लेखेका छन्, ‘रत्नपार्कको नाम परिवर्तनगर्ने काठमाडौं मनपाको निर्णय गलत छ । श्री ५ महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ । निर्णय सच्याईयोस् । जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं ।’

नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य स्थानमा स्थापना गरेर भव्य पार्क बनाइए आफ्नोतर्फबाट पूर्ण सहयोग रहने तर रत्नपार्कको नाम परिवर्तन गर्ने‚ इतिहाँस मेटाउने कार्य संकीर्ण र विकास विरोधी रहेको अध्यक्ष थापाकाे भनाइ छ । ‘नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाइयोस्। हाम्रो पुरा सहयोग रहनेछ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकीर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्। द्वन्द्व निम्त्याउने काम नहोस्। इनफ इज इनफ।’

साथै अध्यक्ष थापाले शंखधर जस्तो राष्ट्रिय बिभुतिको अरु कसैको नाममा रहेको र व्यापक प्रचलनमा आएको पार्कको नाम बदलेर अवमुल्यन गरेको बताएका छन् । उनले भने, ‘काठमाडौं मनपाको यो कार्यले राष्ट्रिय विभुति शंखधर साख्वको समेत अवमुल्यन भएको छ।राष्ट्रिय विभुति शंखधर साख्व अरु कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनु पर्ने पात्र होईनन्।उहॅाको सम्मानको निमत्त पनि यो गलत निर्णय सच्याएर उपयुक्त नयॅा ठॅाउमा पार्क बनाऔॅ ।’

प्रतिक्रिया