प्रदेश १ मा चलचित्र महोत्सव हुँदै,वरिष्ठ सल्लाहकारमा दिपाश्री र चिरञ्जीवी

काठमाडौं । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले बृहत् चलचित्रसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरी आफ्नो आगामी दिनको कार्ययोजनाहरु सार्वजनिक गरेको छ ।

कार्ययोजना अनुसार कोरोनाका कारण सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उद्देश्यले आगामी ०७८, बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश नं. १ ले आयोजना गर्ने भएको छ । प्रदेश नं. १ मा नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छायाँकनको लागि एकदमै उपयुक्त स्थान भएकोले त्यहाँको चलचित्रकर्मीहरुलाई उत्साहित गराउँदै प्रदेश नं. १ को पर्यटकीय स्थानलाई प्रवर्द्धन गर्ने उद्देश्यले नै चलचित्र महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महोत्सवमा प्रदेश नंं १ का चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्नको लागि त्यहीँ नै बनेका कथानाक चलचित्र, छोटो चलचित्रहरुका लागि छुट्टै र नेपालमा बनेका अन्य विधाअन्तर्गत रहेर चलचित्रहरु प्रदर्शन गर्ने योजना रहेको छ । महोत्सवमा अग्रज चलचित्रकर्मीहरुलाई सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

प्रदेश नं. १ का चलचित्रकर्मीहरुको जानकारीसहित भएको चलचित्र स्मारिका पनि उक्त अवसरमा विमोचन गर्ने र चलचित्र सम्बन्धी कार्यशाला गर्ने योजनासमेत रहेको महासंघका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए । अध्यक्ष प्रधानले भनेका छन्, ‘गत ०७६ कार्तिक २९ देखी २ मसिंरसम्म प्रदेश न. १ सरकारले घोषणा गरी सम्पूर्ण तयारी पूरा गरिसक्दा पनि चलचित्र महोत्सव विविध कारणले गर्न सकेनौं । हामी महासंघका सम्पूर्ण सदस्यहरु जोडिएको कारणले अहिलेसम्म त्यो कुराले पीडाबोध भएको छ । यसैले पनि हामीले यो चलचित्र महोत्सव आयोजना गर्न लागेका हौँ ।’

त्यस्तै मङ्सिर ७ गते इटहरीमा एक कार्यक्रम गरी निर्मात्री, निर्देशक तथा कलाकार दिपाश्री निरौला र वरिष्ठ चलचित्र निर्माता चिरञ्जीवी बस्नेतलाई नेपाल चलचित्रकर्मी महासंघ १ नं. प्रदेशको वरिष्ठ सल्लाहकारमा मनोनयन गरिएकाे छ । महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमा बोल्दै सल्लाहकार निरौलाले भनिन्, ‘अहिलेको अवस्थाले गर्दा सिङ्गो चलचित्र उद्योग नै थिलो भएको छ । यो अवस्थामा हामी सबै चलचित्रकर्मीहरुले मिलेर चलचित्र क्षेत्रलाई अघि बढाउने काम गर्नुपर्छ । अहिले महसंघले प्रदेश नं. १ मा गरिरहेको गतिविधि एकदमै सराहनीय रहेको छ ।’

यसैगरि वरिष्ठ निर्माता चिरञ्जीवी बस्नेतले आफैँले पूर्ण लगानी गरेको ३७ वटा चलचित्रसहित ८० भन्दा बढी चलचित्र निर्माण गरेको र अहिले इनरुवामा गइ हल व्यवसाय सञ्चालन गरेको बताए । ‘हुन त मैले पहिला पनि चलचित्र छायाँकन गर्दा पूर्वलाई नै प्राथमिकता दिने गरेकाे थिएँ । अब नयाँ निर्माण गर्ने चलचित्रको सम्पूर्ण कार्य यही प्रदेश नं. १ मा नै गर्नेछु’,  उनले भने– ‘आवश्यक प्राविधिकहरुमा पहिलो प्राथमिकता पनि  प्रदेश नं. १ लाई नै दिनेछु । जसरी भारतमा साउथ चलचित्रको छुट्टै पहिचान भएझैं हामी सबै मिलेर प्रदेश नं. १ लाई भारतको साउथजस्तै बनाउन सक्छौँ ।’

प्रतिक्रिया