‘…अनि खुसीले भरियो मन !’

विराटनगर । ‘निःशुल्क खाना खुवाउने हाम्रो अभियान’ले विराटनगर ८ स्थित असोक चोकमा रहेको विराटेश्वर वृद्धाश्रममा न्यानो कपडा वितरण गरेको छ ।

युवा नेता तथा सामाजिक अभियन्ता वोसिम आलमको नेतृत्वमा आईतबार आश्रमा रहेका बुवाआमाहरुका लागि न्यानो लुगा वितरण गरिएको हो ।

कलेक्शन भएका सम्पूर्ण प्रयोगमा आउने लुगाकपडाहरुलाई सरसफाई गरेसँगै सेनिटाइजर गरेर तयार भएपश्चात कपडा वितरण गर्दै आएको चौथो चरण भएको अभियानका कान्छो अभियन्ता कृशल आलेले बताए ।

उनले भने,‘लकडाउनको समय हामीले दैनिक २ सय जनालाई खाना खुवाउने क्रममा उनीहरु के लगाउछन् ?, के खान्छन ? भन्ने जानकार भएका थियौँ, विशेष गरेर जाडो महिनामा सडक पेटीमा बस्ने मानिसहरु चिसो मौसममा प्रभाव पर्ने भएकाले प्रयोगमा आउने लुगालाई सरसफाई गरेर वितरण गर्ने हाम्रो टिमको योजनाअनुसार न्यानो कपडा वितरण गरेका हौँ ।’

उनले आफूसँग भएका प्रयोग गर्न मिल्ने कपडा उपलब्ध गराउन समेत आग्रह गरेका छन् । समूहमा मिलेर काम गर्न सकिए जस्तो अप्ठयारो काम पनि गर्न सकिने अभियानकी दिपा दर्नाल बताउँछिन् ।

उनी भन्छिन्,‘दाताहरुबाट आएका कपडाहरु हामी सबै टिम नै मिलेर छान्ने, प्याकिङ गर्ने, काम बाँडफाड गर्छौँ, यसरी समूहमा काम गर्र्दा सहजै काम गर्न पनि सकिन्छ र समूहले चुनौतीपूर्ण कामहरु पनि सहजै गर्न सकिने रहेछ ।’

‘खुशीले भरीयो मन…’
आश्रमको प्राङगणमा हिमाल झैँ सेतै कपाल फुलेकी, मुजा परेको गाला, थोरै कुप्रिएको ढाड, उमेरले त्यस्तै ५० कटेकी एक वृद्ध आमा मेरा आँखाको नानीमा ठोकिन पुगिन् ।

टेबलमा वितरणमा राखिएका लुगा उनले आफै छानिन् । उनैले रोजेको साडी हातमा बोकेर खुशीले भरीएको हँसिलो अनुहार लिएर म भए नजिकै आईन् ।

उनले भनिन,‘म लगाएर आँउछु है ?’ निकै समय ओझेल परिन् । पुनः आँउदा उनी त्यहिँ कपडामा आइन जुन पहिले नै उनी मेरो आँखाको नानीमा ठोकिएकी थिइन् ।

म नजिकै आएर भनिन, ‘मैले राखे, अब भोली लगाउँछु ।’ घरमा को हुनुहुन्छ ? भन्ने मेरो प्रश्नमा उनले भनिन, ‘मेरो कोही छैन, धेरै भयो म यो आश्रममा बसेको, उमेर हुन्जेल अरुकै घरमा बसेर हुर्किएँ, बढेँ, काम गरे उमेरले डाँडा काट्दै गयो, नसके पछि वृद्धा आश्रममा आएर बसेँ ।’

उनको नाम सोध्दा ‘कान्छि’ जवाफ दिईन् । उनी भन्छिन्, ‘आफ्नो कोही नभएकाहरुका लागि यसरी लुगा लिएर आँउदा त आफ्नो मान्छे भेट्न आए जस्तै लाग्यो ।’

आश्रममा बस्ने कोही कोहीको आफन्त भेट्न आउँदा आफ्नो पनि आइदिए हुन्थ्यो जस्तो लाग्ने कान्छिलाई निःशुल्क खाना खुवाउने हाम्रो अभियानको टिमले वितरण गरेको न्यानो कपडा पाएर खुशीले मन भरीएको बताइन् ।

त्यसो त कान्छि एक प्रतिनिधि पात्र मात्रै हुन् । आफन्त नभएर जीवनका आरोह, अवरोहहरुलाई पार गर्दै आश्रममा जीवन बिताउनुपर्ने । आफन्त भएर पनि एक्लिएका कयौँ अभिभावकहरु आश्रममा नै आश्रय विहीन भएर जीवन व्यतित गरेका कयौँ अभिभावकहरु छन् ।

 

प्रतिक्रिया