मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

म कुनै गुुटमा छैन, नेकपा विभाजन हुँदैन : बामदेव गौतम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए । ‘म कुनै गुटमा छैन, म सधैं गुटको विपक्षमा हुन्छु,’ उनले भने, ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’

पार्टी एकताका क्रममा देखिएका केही विषयलाई तत्कालीन समयमा समाधान नगरिँदा अहिले समस्या आएको उनको भनाइ छ । उपाध्यक्ष गौतमले पार्टीमा दुई अध्यक्षले बैठकको कार्यसूची तय गर्ने र त्यसैका आधारमा सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बस्ने बताए ।

उनले पार्टीभित्र फरक विचार राख्नाले पार्टीलाई झनै चलायमान र सुदृढ बनाउने छ भनेका छन् । उपाध्यक्ष गौतमले मुलुक समृद्धिका मार्गमा अघि बढेको र सरकारले घोषण पत्रअनुसार काम गर्नुपर्नेसमेत बताए ।

स्वास्थ्यमन्त्री भन्छन्–‘अबको ४ महिनामा करिब १ लाख ४८ हजार कोरोना संक्रमित थपिन सक्छन्’
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अबको ४ महिनामा करिब १ लाख ४८ हजार जना नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि हुन सक्ने बताएका छन् । शनिबार (आज)‘कोभिड उन्नाइस महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’बारे काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका मन्त्री ढकालले अबको ४ महिनाको समयावधिमा सो संख्याका कोरोना संक्रमित थपिन सक्ने जानकारी गराएका हुन् ।

कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको बताएका मन्त्री ढकालले कूल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने पनि उल्लेख गरे ।

नेकपा शीर्ष तहको विवादको ‘साइड् इफेक्ट्’ : सुरेन्द्र पाण्डेविरुद्ध आफ्नै क्षेत्रमा नाराबाजी
सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित सांसद सुरेन्द्र पाण्डेविरुद्ध आफ्नै क्षेत्रमा कार्यकर्ताहरुले नाराबाजी गरेका छन् । पछिल्लो निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद पाण्डेविरुद्ध आफ्नै क्षेत्रमा कार्यकर्ताहरुले नाराबाजी गरेका हुन् ।

वीरेन्द्रनगरको राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रमा ‘विकास निर्माण तथा संसद विकास कोष’को विषय नै ननिकाली प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनावश्यक लाञ्छना लगाउने काम गरेकाले उनीविरुद्ध नाराबाजी गर्नुपरेको कार्यकर्ताहरुले बताएका छन् ।

आफ्नो क्षेत्रमा विकासको नेतृत्वसमेत गर्न नसक्ने तर, पार्टीभित्रै गुट तथा उपगुटको नेतृत्व गरी पार्टीलाई विभाजनको अवस्थामा पुर्याएको आरोपसहित सांसद पाण्डेविरुद्ध नाराबाजी गरिएको हो । नेकपाभित्र पनि माधवकुमार नेपाल निकट सांसद पाण्डेले पछिल्लो समय प्रधानमन्त्री ओलीविरुद्ध विभिन्न खाले टिकाटिप्पणी गर्दै आएका थए ।

पछिल्लो कोरोना अपडेट : थप ७ जनाको निधन, नयाँ संक्रमित कति थपिए ?
नेपालमा कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुुनेको संख्या १ हजार ३ सय ५ पुुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १ हजार ६ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । यसैगरी स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार २ हजार ३ सय २३ जनाले गत २४ घण्टामा कोरोना जितेका छन् । आजको थप अपडेटसँगै नेपालमा संक्रमितको कूल संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ । आज थपिएका संक्रमितहरुमध्ये ८ सय ९९ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।

माधव नेपालको माग–‘सुरेन्द्र पाण्डेविरूद्ध नाराबाजी गर्नेलाई कडाभन्दा कडा कारबाही गरियोस्’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सांसद सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी गर्नेलाई कारबाहीको माग गरेका छन् । राप्ती नगरपालिकाको एक कार्यक्रमलाई सम्बोधन गर्न शनिबार चितवन पुुगेका पुूर्व अर्थमन्त्रीसमेत रहेका सांसद पाण्डेविरुद्ध नेकपाकै कार्यकर्ताहरुले नाराबाजी गरेको समाचार बाहिरिएपछि नेता नेपालले नाराबाजी गर्नेहरुलाई कारबाही गर्नुपर्ने माग गरेका हुुन् ।

नेता नेपालले लेखेका छन्–‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्नेर गराउने जो सुकै भए पनि छानबिन गरी कडा भन्दा कडा कारवाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

खुल्यो वीरेन्द्रको ‘श्री सदन’, भोलिदेखि अवलोकन गर्न सकिने
स्वर्गिय राजा वीरेन्द्रको ‘श्री सदन’ सर्वसाधारणका लागि खुल्ला गरिएको छ । आजबाट औपचारिक रुपमा ‘श्री सदन’ खुल्ला गरिएको हो । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री योगेश कुमार भट्टराईले ‘श्री सदन’ खुल्ला गरिएको घोषणा गरेका छन् । भोलीबाट नारायणहिटी संग्रहालय अवलोकनका लागि जाने सर्वसाधारणले ‘श्री सदन’ समेत अवलोकन गर्न पाउने भएका छन् ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार भोलीबाट सर्वसाधारणले ‘श्री सदन’सँगै गणतन्त्र स्मारक समेत अवलोकन गर्न पाउनेछन् । २०२३ सालमा बनेको तीनतले ‘श्री सदन’ मा १२ वटा कोठाहरु रहेका छन् । जहाँ तत्कालि राजा वीरेन्द्र रानी ऐश्वर्य, तत्कालिन युवराज दीपेन्द्र, कान्छा छोरा निराजन तथा छोरी श्रुतिको कोठाहरु रहेका छन् ।

संग्रहालय विकास समितिका अनुसार त्यहाँ तत्कालीन राजा वीरेन्द्र र उनका परीवारले प्रयोग गर्ने, साधनहरु अवलोकन गर्न सकिनेछ ।

पहिलो पटक ‘अन्तरिक्ष अनुसन्धान’मा भाग लिँदै नेपाल, तुलसीको बिउलाई रकेटद्वारा पठाइँदै
नेपालले पहिलो पटक अन्तरिक्षमा हुने अनुसन्धानमा भाग लिने भएको छ । अन्तरिक्षमा जडीबुटीको अंकुरणसम्बन्धी अध्ययन गर्ने ‘एसियन हब्स इन स्पेस’ नामक परियोजनामा यो सालदेखि नेपाललाई समेत समावेश गराएको छ । योसँगै नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धानमा सहभागी हुने अवसर पाएको हो ।

एसिया तथा प्रशान्त क्षेत्रका अन्तरिक्षमा अनुसन्धान गर्ने वैज्ञानिक संस्थाहरूको छाता संगठन एसिया प्यासिफिक रिजनल एजेन्सी फोरमले पृथ्वीमा रहेका जडीबुटीलाई गुरुत्वाकर्षण मुक्त क्षेत्रमा अंकुरण गराउँदा कस्तो प्रभाव पर्छ भन्ने बारेमा अन्तरिक्षमा अनुसन्धान गर्न लागेको छ ।

विभिन्न एसियाली मुलुकमा पाइने जडीबुटीलाई अनुसन्धानको लागि अन्तरिक्षमा लैजाने क्रममा फोरमले नेपालबाट तुलसीको बिउलाई अनुसन्धानमा समेटेको छ । सोही अनुसन्धानमा नेपाली वैज्ञानिक संस्थालाई समेत संलग्न गराइएको हो ।

फोरमको २०१९ नोभेम्बर २६–२९ सम्म जापानमा बसेको बैठकले नेपाल, जापान, ताइवान, भियतनाम, बंगलादेश लगायतका देशमा रहेका छुट्टाछुट्टै जडीबुटी अन्तरिक्षमा अध्ययनको लागि पठाउने निर्णय गरेको थियो । सोही निर्णयअनुरुप नेपालबाट बैठकमा प्रतिनिधित्व गरेको संस्था नेपाल साइन्टिफिक एक्टिभिटिज एण्ड रिसर्च सेन्टरले तुलसीको बिउलाई अन्तरिक्षमा पठाउन प्रस्ताव गरेको थियो । अनुसन्धानका लागि नेपालबाट पठाइएको तुलसीको बिउलाई डिसेम्बर २ मा अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाइँदै छ ।

कोरोनाबारे सचेतना फैलाउन जनप्रतिनिधि घर–घरमा पुुगौँ : अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएका छन् । काठमाडौंमा शनिबार (आज) आयोजित ‘कोभिड १९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताएका हुुन् ।

कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । ‘जनताले आफ्नो प्रतिनिधिलाई बढी बिश्वास गर्छन्,’ बागमती प्रदेशका सांसदहरू सहभागी कार्यक्रममा उनले भनेका छन्, ‘आफ्ना मतदातालाई स्वास्थ्य अनुशासनमा राख्न तथा स्वास्थ्य मापदण्ड पालना गराउने दायित्व सरकारको मात्र नभई तपाईँ हामी सबैको हो ।’

उदाउँदो सूर्यलाई अर्घ्य दिई समापन भयो छठ पर्व
छठ पर्वको विधिवत समापन भएको छ । छठ पर्वका बर्तालुले आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्वको विधिवत अन्त्य गरेका हुन् । तिन दिन सम्म मनाईने छठ पर्वमा बर्तालुले सुर्य भगवानको पुजा आराधना गर्ने गर्छन् । हिजो साँझ बर्तालुले अस्ताउँदो सुर्यलाई पुजा आराधना गरेका थिए ।

तराईमा धुमधामपूर्वम मनाईने छठ आजभोली पहाडी क्षेत्र र समुदायमा पनि फैलँदो छ । काठमाडौं उपत्यका तथा तराईका जिल्लाहरु जोडिएका पहाडी जिल्लाहरुमा समेत छठ पर्व धुमधामले मनाइने गरेको छ । चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी छठ समापन गर्ने परम्परा छ ।

बार्सिलोना र एटलेटिको आमनेसामने हुँदै
स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा क्याटलान क्लब बार्सिलोना र एटलेटिको म्याड्रिड भिड्दैछन् । खेल नेपाली समयानुसार खेल रातको १ः४५ बजे सुरु हुनेछ ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको एटलेटिको घरेलु मैदानमा जित हासिल गर्दै अपराजित यात्रा कायम राख्ने सुरमा हुनेछ । टोलीमा उरुग्वेली फरवार्ड लुइस सुआरेज र लुकास टोरेरा कोरोना संक्रमणका कारण उपस्थित हुने छैनन् । सुआरेजको अनुपस्थितिमा जोआओ फेलिक्सले टोलीको आक्रमण सम्हाल्नेछन् ।

एटलेटिको ७ खेलमा १७ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । एटलेटिको लिगमा अपराजित एकमात्र टोली हो । आठौं स्थानमा रहेको बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । टोलीले ३ जित, २ बराबरी र २ हारको नतिजा निकालेको छ ।

ओबामाले भने–‘ह्वाइट हाउसभित्र कमाण्डो पठाएर ट्रम्पलाई बाहिर निकाल्न सकिन्छ’
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट आउसभित्र कमाण्डो पठाएर बाहिर निकाल्न सकिने बताएका छन् । सन् २०२० को राष्ट्रपतीय चुनाव हारिसकेका ट्रम्पले जिद्दी गर्दै चुनावमा धाँधली भएको बताउँदै आएका छन् । गत ३ नोभेम्बरयता ह्वाइट आउस बाहिर नदेखिएका ट्रम्पलाई कमाण्डो पठाएर पनि बाहिर निकाल्न सकिन्छ भनी पूर्व राष्ट्रपतिले बोलेका हुन् । एक अन्तर्वार्ताका क्रममा ओबामाले भनेका छन्, ‘यदि कोही ह्वाइट हाउसको कुनामा बसिरहेको भए, उनलाई बाहिर निकाल्न म हाम्रो नेभिसील कमाण्डोहरूको टोली पठाउँथें ।’

ओबामा शुक्रबार प्रसिद्ध टिभी कार्यक्रम ‘जिमी किम्ल लाइभ’ मा आफ्नो पुस्तक ‘ए प्रमिस्ड ल्याण्ड’ को प्रमोसनमा सामेल भएका थिए । उक्त समयमा उनले धेरै प्रश्नहरूको जवाफ दिए । धेरैजसो प्रश्नहरू रमाइलो किसिमका थिए । उही समयमा, जिम्मीले ओबामालाई सोधे, ‘ह्वाइटहाउसमा त्यस्तो कुन ठाउँ छ, जहाँ कोही बाहिर निस्किने डरले लुक्छ, भेट्न गाह्रो हुन्छ?’
बाराकले हाँस्दै जवाफ दिए, ‘मलाई लाग्छ, हामीले हाम्रो नेभिसील कमाण्डोहरू पठाएर जुनसुकै व्यक्तिलाई निकाल्न सक्छौं ।’

प्रतिक्रिया