डा. केसीले भने–‘उपचार खर्च आफैँ ब्यहोर्छु, सरकारले नागरिकप्रतिको कर्तव्य पूरा गरोस्’

काठमाडौं । डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैँ ब्यहोर्ने बताएका छन् । कोरोना भाइरसबाट हुने कोभिड १९बाट संक्रमित डा. केसीले सरकारले नागरिकप्रतिको आफ्नो कर्तव्य पूरा गरे पुग्ने र आफ्नो उपचार खर्च आफैँ गर्ने बताएका हुन् ।

शनिबार (आज) नै विज्ञप्ति निकालेका डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै आफ्नो उपचार खर्च आफैँ ब्यहोर्ने उल्लेख गरेका हुन् ।

संक्रमित डा. केसी अहिले टिचिङ्ग अस्पताल महाराजगञ्जमा उपचाररत छन् । गत बिहीबार स्वाब संकलन गराएका डा. केसीको गत शुक्रबार पोजेटिभ रिपोर्ट आएको थियो ।

यसअघि आजै प्रधानमन्त्री ओलीले डा. केसीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने घोषणा गरेका थिए ।

डा. केसीको विज्ञप्तिः–

म कोभिड -१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।

कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।

हामीसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए।

तसर्थ हामीसँग १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु। मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु।

डा गोविन्द केसी
२०७७/०७/२९
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज

 

प्रतिक्रिया