प्रधानमन्त्रीको घोषणा–‘डा. गोविन्द केसीको स्वास्थ्य उपचार सरकारले गर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको स्वास्थ्य उपचार सरकारले गर्ने घोषणा गरेका छन् ।

शनिबार (आज) आफ्नो आधिकारिक ट्वीटर ह्याण्डमार्फत् सोबारे जानकारी गराएका प्रधानमन्त्री ओलीले डा. केसीको स्वास्थ्य उपचारमा लाग्ने सम्पूर्ण रकम सरकारले ब्यहोर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्–‘कोरोनाबाट संक्रमित हुनुभएका डा.गोविन्द केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उहाँको उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्नेसमेत जानकारी गराउँदछु ।’

डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि गत बिहीबार आफ्नो स्वाब परीक्षण गराएका थिए । तत्पश्चात् शुक्रबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले उनको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै दर्जनौं आमरण अनशन बसिसकेका केसीको स्वास्थ्योपचार सरकारले गर्ने भएको हो ।

यसअघि पनि सरकारले राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले उपचार सरकारले गर्ने निर्णय गरेका थियो ।

प्रतिक्रिया