दाजुभाइ नभएका अभिनेत्रीहरुले कसरी मनाउँदै छन् तिहार ?

  • एन्जिला क्षेत्री

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्वीहरुको दोस्रो महान चाड हो तिहार । भर्खरै मात्र पहिलो ठुलो चाड बिजयादशमीलाई बिदाइ गरिएसँगै तिहारको आगमन भएको छ । आज तिहारको पहिलो दिन काग तिहार ।

हरेक चाडवाडको आफ्नै रितितिथि, परम्परा र शैली रहेको हुन्छ । दसैंमा मान्यजनहरुबाट टिका थापि आशिर्वाद लिने गरिन्छ भने, तिहारमा दाजुभाईहरुले दिदिबहिनीहरुबाट आशिर्वाद लिने चलन रहेको छ ।

तिहारमा दिदिबहिनीले दाजुभाइलाई दिएको आशिर्वाद विशेष हुन्छ । दैलोमा भाइको नाममा ओखर फुटाई आशिर्वाद दिने चलन रहेको छ । त्यसो गरियो भने जस्तोसुकै विग्नबाधा आइपरे पनि सजिलै टर्ने मान्यता रहेको छ । त्यसैले पनि तिहारमा दिदिबहिनी दाजुभाई जतिसुकै टाढा भएपनि भाइटीकाका बेला भने जमघट हुने प्रयास गर्दछन् । कहिले दिदिबहिनीको घरमा गइ टिका र आशिर्वाद थाप्छन् भने कहिले दिदीबहिनी दाजुभाइको घरदैलोमा आई आशिर्वाद दिने गर्दछन् । कतिले फोन बाटै भए पनि आशिर्वाद दिने गर्छन् ।

दिदीबहिनी, दाजुभाइ हुनेहरुका लागि तिहार खुशीको चाड हो भने नहुनेका लागि दु:ख र पीर पनि हो । त्यहि आफ्नो दु:ख भुलाउनकै लागि भएपनि मानिसहरु भाइटीकाको दिन रानीपोखरी जाने गर्दछन् । कतिपयले आफ्नो मन मिल्ने अरु नै  दाजुभाइ दिदीबहिनीसँग भावनात्मक सम्बन्ध गाँसेर टीका लगाउने गर्दछन् । त्यस्तै नेपाली चलचित्र क्षेत्रमा पनि त्यस्ता केहि नायिकाहरु छन्, जसका दाजुभाइ छैनन् ।

१. सुहाना थापा

नेपाली चलचित्र क्षेत्रमा कुनै समय एकछत्र राज गरेकी कलाकार हुन् झरना थापा । उनै थापाकी छोरी हुन् नायिका सुहाना थापा । सुहानाले झरनाले निर्देशन गरेकाे चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी हुन् । उनले डेब्यु चलचित्रबाटै हजारौँ नेपाली दर्शकहरुको मन जितिन् । नेपालमा जन्मेर अमेरिकामा हुर्के बढेकी सुहाना हिन्दु धर्मकर्ममा धेरै नै विश्वास गर्छिन् । उनी भगवान श्रीकृष्णकी भक्त पनि हुन् ।

सुहाना बुवा सुनिल कुमार थापा र आमा झरना थापाकी एक्ली सन्तान हुन् । उनलाई तिहारमा टीका लगाईदिने कुनै दाजुभाई छैनन् । भाइटीकामा टीका लगाईदिन आफ्नै दाजुभाई नभएपनि उनले आफ्ना नजिकका दाजुभाई पर्नेहरुलाई टीका लगाउँदै आएकी छिन् । तिहार भाइटिकासँगै रंगीविरंगी फूलहरु र झिलीमिली बत्तीहरू बाली रमाइलो गर्ने पर्व भएकाले पनि आफुलाई तिहार विशेष लाग्ने उनी बताउँछिन् ।

२. पूजा शर्मा

त्यस्तै दाजुभाइविहिन अर्की नायिका हुन् पूजा शर्मा । चलचित्र ‘प्रेम गीत’ बाट उदाएकी पूजा पनि एक्ली सन्तान हुन् । पूजाका दाजुभाइ नभए पनि उनलाई रमाइलो लाग्छ । उनले आफ्ना दाजुभाई नभएता पनि कहिलेकाहीँ नजिकका दाजुभाइ पर्नेहरुलाई टीका लगाउँदै आएकी छिन् । कहिले भने टिका नलगाई बस्ने गरेकाे उनी बताउँछिन् । यसपालीको तिहार भने काठमाडौँमै रमाइलो गरि मनाउने सोच बनाएकी छिन् । तर, भाइटीका लगाउने भने कुनै योजना नरहेकाे उनले बताइन् ।

३. स्वस्तिमा खड्का

अर्की नायिका स्वस्तिमा खड्का पनि आमाबुवाकी एक्लि सन्तान हुन् ।स्वस्तिमाले पनि भाइटीकामा टीका लगाईदिने कुनै दाजुभाई छैनन् । आफ्ना दाजुभाई नभए पनि कुनै नरमाइलो नलागेको उनी बताउँछिन् । यद्यपी आफ्ना दाजुभाई नभएता पनि आफन्त पर्ने दाजुभाइहरुलाई टीका लगाउँने गर्छिन् स्वस्तिमा ।

४. उपासना सिंह ठकुरी

पछिल्लो समयकी एक सुन्दर र सुशिल नायिकाको रुपमा परिचित छिन् नायिका उपासना सिंह ठकुरी । चलचित्र क्याप्टेनबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उपासनाले चलचित्र कबड्डी कबड्डी कबड्डीबाट निकै नै चर्चा पाइन् । उनै सुन्दरी नायिका उपासना पनि दाजुभाइविहिन नायिका हुन् । परिवारमा उपासनासहित ३ छोरीहरु रहेका छन् । तिहारमा आफ्ना दाजुभाई नहुँदा तिहार खल्लाे लाग्ने गरेको उनको अनुभव छ । त्यसो त यो वर्ष उनको तिहार छैन ।

५. शिल्पा पोखरेल

नायिका शिल्पा पोखरेल पनि दाजुभाइ नहुने नायिकाहरु मध्येकी एक हुन् । त्यसो त शिल्पा घरकी जेठी छोरी हुन् । उनकी एक बहिनी पनि छिन् । आफ्ना दाजुभाइ नभए पनि तिहारमा उनी खाली हात भने बस्दिनन् ।

शिल्पाले विगत केहि वर्षदेखि निर्देशक विकाश रौनियारलाई टिका लगाउने गरेकी छिन् । उनले रौनियारलाई दाइ मानेकी छिन् । शिल्पालाई आफ्ना दाजुभाई नभएको मा कुनै पश्चताप भने छैन । रौनियारले उनलाई साथ सपोट गर्दै आएको उनी बताउँछिन् । ‘मलाई विकास दाई मानेको दाई हो भन्ने नै लाग्दैन । किनकी मैले उहाँबाट त्यति धेरै माया र साथ पाइरहेकी छु । उहाँ घरकै दाई जस्तो हुनुहुन्छ’, शिल्पाकाे भनाइ छ ।

तिहारमा देउसी भैलो खेल्न पनि धेरै रमाइलो लाग्ने शिल्पा बताउँछिन् । उनी अहिले भोजपुरी चलचित्रको सुटिङमा रहेकी छिन् । यसपालीको तिहार पनि सेटमै मनाउने उनी बताउँछिन् ।

६. रजनी केसी

नायिका रजनी केसी पनि आमाबुवाकी एक्ली सन्तान हुन् । रजनी दाजुभाइ नभए पनि तिहारमा रमाउने नै गर्छिन् । उनलाई तिहारमा रङ्गोली बनाउन, दियो बाल्न एकदमै मन पर्छ । आफुलाई सेलरोटी धेरै म पर्ने रजनी बताउँछिन् । आफ्ना दाजुभाई नभएपनि उनले पहिलेदेखि नै आफन्त पर्ने दाजुभाइलाई भाइटीका लगाउँदै आएकी छिन् ।

प्रतिक्रिया