‘आज पनि निष्कर्षमा पुग्नुभएन भने प्रधानमन्त्रीलाई पार्टीले पर्खिँदैन’

  • धनबल राई

काठमाडौं । एक महिना लामो रस्साकस्सीपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ । सचिवालयमा आफू अल्पमतमा परेको भन्दै अहिलेसम्म बैठक राख्न नमानेका प्रधानमन्त्रीसमेत रहेका नेकपाका एक अध्यक्ष केपी शर्मा ओली अन्ततः बैठक बोलाउन राजी भएका छन् । यता नेकपाकै कतिपय नेताहरुले भने प्रधानमन्त्री आफ्नै कार्यशैली र बानी–व्यवहारका कारण पार्टीभित्रै अल्पमतमा परेको बताउँदै आएका छन् । बागमती प्रदेशकी इन्चार्ज तथा नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले मकालु खबरसँगको कुराकानीको क्रममा भनेका छन्–‘प्रधानमन्त्री आफैँले नै समस्या निम्त्याइरहनुहुन्छ । आफैँ अल्पमतमा पर्नुहुन्छ । पछिल्लो विवादमा पनि उहाँलाई अहिलेसम्म पार्टी सर्कुलरले कुरेर बसेको छ । आज पनि उहाँ निष्कर्षमा पुग्नुभएन भने पार्टीले कुरेर बस्नेवाला छैन । उहाँ सचिवालय तथा पार्टीभित्रै अल्पमतमा परेको कुराको भागीदार उहाँ आफैँ हुनुहुन्छ ।’

‘समस्याको जड प्रधानमन्त्री नै’
अहिलेको नेकपाको आन्तरिक कलहको जड प्रधानमन्त्री स्वयम् भएको नेतृ शाक्यको टिप्पणी छ । उनले भनेकी छन्–‘प्रधानमन्त्री आफैँ नै अहिलेको पार्टीभित्रको समस्याको जड हुनुहुन्छ । उहाँले पार्टीको निर्णय मान्नुहुन्छ । त्यहीँ नै समस्या हो । उहाँ आफ्नै कार्यशैलीका कारण विवादमा तानिइरहनुहुन्छ । पार्टी होनि, व्यक्ति होइन ।’

यस्तै उनले प्रधानमन्त्री आफैँ सर्वेसर्वा हो भन्ने ध्येयबाट अघि बढेको समेत बताएकी छन् । यसभन्दा अगाडि पनि नेतृ शाक्यले विभिन्न सञ्चारमाध्यममा प्रधानमन्त्री ओलीले नेतृत्व सुम्पिँदा सबैभन्दा राम्रो हुने बताएकी थिइन् ।

‘आजको बैठक प्रधानमन्त्रीमै भर पर्छ’
नेतृ शाक्यले आजको सचिवालय बैठक प्रधानमन्त्री स्वयंमा नै भर पर्ने बताएकी छन् । उनले भनेकी छन्–‘आजको बैठक (सचिवालय) प्रधानमन्त्रीमै भर पर्छ । सहमति गरेर अगाडि जाने हो कि, पुनः पार्टी र पार्टी पदाधिकारीहरुलाई झुल्याइरहने भनेर । सबैभन्दा राम्रो त सहमति गरेर अगाडि जाँदा नै ठीक हुन्छ ।’

यस्तै प्रधानमन्त्रीले अब पनि ढिलाइ गरे पार्टी सर्कलले नपर्खिने नेतृ शाक्यको चेतावनी छ । ‘प्रधानमन्त्रीले अब पनि झुल्याउने काम गर्नुभयो भने पार्टी सर्कलले पर्खिँदैन ।’ उनले भनेकी छन् ।

‘सहमतिको लागि २६ भदौतिर फर्किनुपर्छ’
नेकपाभित्रको विवादको चुरो २६ भदौको निर्णय पार्टीभित्र कार्यान्वयन नहुनु बताइँदै आएको छ । नेकपा नेताहरुले पार्टीभित्र विवाद देखिनुको पछाडि पार्टीको निर्णय कार्यान्वयन नहुनु भएको बताउँदै आएका छन् ।

यसैबीच नेतृ शाक्यले पनि उही दोहोर्याइन् । ‘समस्या समाधानको लागि ३६ भदौतिरै फर्किनुपर्ने हुन्छ । प्रधानमन्त्री त्यस कुरामा सहमत हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रमुख कुरा हो । यदि सहमति नै भएर अगाडि जानुपर्छ भने त्यसतिरै फर्किनुपर्छ,’ उनले भनिन् । यसअघि नेकपा नेता मणि थापाले पनि सहमतिको लागि २६ भदौतिरै फर्किनुपर्ने बताएका थिए ।

बामदेवमाथि ‘बैठक सुइँ’ फनफनी
यसबीचमा प्रधाननमन्त्री ओलीले नेकपा उपाध्यक्ष गौतमलाई सरकारमा सामेल हुन अनुरोध गरिसकेका छन् ।  उपाध्यक्ष गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटउपर सुनुवाइ गर्दै मन्त्री बन्ने बाटो खुलाइदिएपछि प्रधानमन्त्री ओलीले आफूसँगै मिलेर सरकारमा जान अनुरोध गरेका हुन् । यसको परोक्ष ध्येय भनेको आफू सचिवालयभित्र बलियो हुनु भएको कतिपय राजनीतिक विश्लेषकहरुको विश्लेषण छ । योबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत उपाध्यक्ष गौतमलाई पार्टीभित्रको विवादमा अहम् भूमिका खेल्न आग्रह गरेकी छन् ।

योसँगै प्रधानमन्त्रीका रहरे उपाध्यक्ष गौतम सरकारमा जाने अड्कलबाजी गरिँदै आएको छ । त्यसो त यसअघिको विवादमा पनि अध्यक्ष दाहालनिकट भएका बामदेव ओलीको चरणमा पुगेर समीकरण नै परिवर्तन गरेका थिए ।

त्यसपछि गौतम प्रधानमन्त्री ओलीकै पक्षमा उभिने चर्चा चलिरहे पनि त्यसमा कुनै सत्यता नभएको उनका प्रेस सहयोगी विश्मणि सुवेदीले पुष्टि गरेका छन् ।

बामदेव गौतम नमाने के हुन्छ ?
योबीचमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा सामेल हुन आग्रह गरिसकेका छन् । यसर्थ पनि आजको नेकपा सचिवालय बैठक सबैको चासोको विषय बनेको छ । बामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले बामदेवको मन्त्री बन्ने बाटो खोलिसकेको छ ।

यसर्थ ओलीले गौतमलाई सरकारमा सामेल हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई आफ्नो खेमामा तान्नको लागि भरपुर प्रयास गरेको बुझिएको छ ।

गौतमले नमानेको खण्डमा अन्तिम समयमा गएर बैठक नै स्थगित गर्ने कि भन्ने मनसायमा बालुवाटार रहेको स्रोत बताउँछ । केही गरी बैठक बसेको खण्डमा ओलीमाथि दह्रो रुपमा प्रस्तुत हुने तयारीमा असन्तुष्ट पक्ष (अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) रहेको बताइन्छ । यसअघि हिजै सचिवालय बैठकको लागि थप रणनीति बनाउन असन्तुष्ट पक्षले छलफल गरिसकेको छ ।

असन्तुष्ट पक्षले पार्टीभित्र उत्पन्न भएको पछिल्लो विवादको कारक तत्व प्रधानमन्त्री ओली नै भएको दावी गर्दै आएको छ । तर, ओलीले भने त्यसलाई अस्वीकार गर्दै लिखित जवाफ नै फर्काइसकेका छन् । उनले आफूविरुद्ध गुटबन्दी गरेको भन्दै जवाफ फर्काएका हुन् ।

Related News:
होलान् बामदेव गौतम सरकारमा सामेल, होला सचिवालय बैठक ?
बैठकअघि दाहाललाई ओलीको जवाफ–‘तपाईँहरुले गुटबन्दी गरिरहनुभएको छ’

 

प्रतिक्रिया