बैठकअघि दाहाललाई ओलीको जवाफ–‘तपाईँहरुले गुटबन्दी गरिरहनुभएको छ’

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँच पन्ना लामो जवाफ दिँदै गुटबन्दी गरेको आरोप लगाएका छन् ।

नेकपा सचिवालयका एक सदस्यले बताएअनुसार दाहालसहित असन्तुष्ट सदस्यहरुले दुई दिनभित्र नेकपा सचिवालय बैठक बोलाउनु भनी दिएको लिखित पत्रको जवाफस्वरुप ओलीले जवाफ फर्काउँदै यस्तो आरोप लगाएका हुन् ।

उनका अनुसार उक्त पत्रको आशय गुटबन्दी आफूले होइन, असन्तुष्ट पाँच सदस्यहरु (अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष बामदेव गौतम)ले गरेको रहेको छ ।

एक महिना लामो रस्साकस्सीपछि नेकपा सचिवालय बैठक शुक्रबार (आज) अपराह्न ४ बजेका लागि बोलाइएको छ । आजको बैठकलाई चासोको रुपमा हेरिएको छ । यस अर्थ कि– यसबीचमा नेकपाभित्र धेरै खाले खिचडीहरु पाकेका छन् ।

यता उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री ओलीले सरकारमा सामेल हुन आग्रह गरेका छन् भने आजको बैठक बामदेव गौतममा निर्भर रहेको स्रोत बताउँछ ।

दुई अध्यक्षकै सहमतिमा बैठक राख्ने भनिए पनि प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई मनाएपछि बैठक राख्न राजी भएको बुझिएको छ । उपाध्यक्ष गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटउपर अदालतले हिजै सुनुवाइ गर्दै मन्त्री बन्ने बाटो खोलिदिएको छ ।

प्रतिक्रिया