होलान् बामदेव गौतम सरकारमा सामेल, होला सचिवालय बैठक ?

 

 

काठमाडौं । लामो समयको रस्साकस्सीपछि सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार (आज) अपराह्न ४ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्दैछ ।

सचिवालयमा आफू अल्पमतमा परेको भन्दै सचिवालय बैठक राख्न नमानेका प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली अन्ततः बैठक बोलाउन राजी भएका हुन् ।

पार्टीको कार्यकारी अध्यक्षको भूमिका पाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत असन्तुष्ट सचिवालय सदस्यहरुले यसअघि सचिवालय बैठक बोलाउनुपर्ने माग दुई दिने अल्टिमेटम प्रधानमन्त्रीलाई दिएको थियो ।

दुई दिने अल्टिमेटम घर्केपछि पनि निकम्मा बसिरहेका प्रधानमन्त्रीले त्यसपछि केही बोलेका र गरेका थिएनन् । त्यसपछि तेस्रो दिनको दिन मंगलबार आफ्नो कार्यकारी अधिकारको उपयोग गर्दै सचिवालय बैठक बोलाउन तरखर गरेका अध्यक्ष दाहाललाई रोक्ने प्रयासस्वरुप प्रधानमन्त्रीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । स्रोतका अनुसार दाहालले त्यसपछि सचिवालय बैठक राख्ने आफ्नो तयारीबाट पछाडी सरेका थिए । तत्पश्चात् दाहालले प्रधानमन्त्रीलाई पुनः दुई दिनपछि सचिवालय बैठक बोलाउन भनी प्रस्ताव गरेका थिए । त्यसपछि दुवै (ओली–दाहाल)कै सहमतिमा आजको बैठक बोलाइएको बिहीबार नै सचिवालय सदस्य तथा पार्टी महासचिव विष्णु पौडेलले जानकारी गराइसकेका छन् ।

बामदेव गौतम नमाने के हुन्छ ?
योबीचमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष बामदेव गौतमलाई सरकारमा सामेल हुन आग्रह गरिसकेका छन् । यसर्थ पनि आजको नेकपा सचिवालय बैठक सबैको चासोको विषय बनेको छ । बामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले बामदेवको मन्त्री बन्ने बाटो खोलिसकेको छ ।

यसर्थ ओलीले गौतमलाई सरकारमा सामेल हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई आफ्नो खेमामा तान्नको लागि भरपुर प्रयास गरेको बुझिएको छ ।

गौतमले नमानेको खण्डमा अन्तिम समयमा गएर बैठक नै स्थगित गर्ने कि भन्ने मनसायमा बालुवाटार रहेको स्रोत बताउँछ । केही गरी बैठक बसेको खण्डमा ओलीमाथि दह्रो रुपमा प्रस्तुत हुने तयारीमा असन्तुष्ट पक्ष (अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) रहेको बताइन्छ । यसअघि हिजै सचिवालय बैठकको लागि थप रणनीति बनाउन असन्तुष्ट पक्षले छलफल गरिसकेको छ ।

असन्तुष्ट पक्षले पार्टीभित्र उत्पन्न भएको पछिल्लो विवादको कारक तत्व प्रधानमन्त्री ओली नै भएको दावी गर्दै आएको छ । तर, ओलीले भने त्यसलाई अस्वीकार गर्दै लिखित जवाफ नै फर्काइसकेका छन् । उनले आफूविरुद्ध गुटबन्दी गरेको भन्दै जवाफ फर्काएका हुन् ।

प्रतिक्रिया