नेकपा विवाद: यसकारण सहज छैन सचिवालय बैठक

काठमाडौं । तीन साता लामो तनाव र रस्साकस्सीपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

बैठक बोलाउन अध्यक्षद्वय सहमत भएपछि महासचिव विष्णु पौडेलले आजका लागि बैठक आह्वान गरेका हुन् । बैठकको पूर्व सन्ध्यासम्म दुवै पक्षका नेता सचिवालयमा बहुमत कायम गर्ने रणनीतिस्वरूप आन्तरिक तयारीमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव पौडेललगायत नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरू शंकर पोखरेल, सुवास नेम्बाङलगायत आफूनिकट नेताहरूसँग पनि परामर्श गरेको जनाइएको छ ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विहिबार खुमलटारमा सचिवालयका बहुमत नेतासँग छलफलमा जुटेका थिए । अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसँग सामूहिक रूपमा र उपाध्यक्ष वामदेव गौतमसँग अलग्गै भेट गरेका हुन् ।

दुवै पक्षले फेरि उपाध्यक्ष गौतमलाई फकाउने प्रयास जारी राखेका छन् । हाल प्रचण्ड-नेपाल समूहमा खुलेका गौतम बैठकसम्म टिममै रहन्छन् कि प्रधानमन्त्रीलाई साथ दिन पुग्छन् भन्नेमा अन्योल नै रहेको स्रोत बताउँछ । गौतमले विगतमा पनि अन्तिम समयमा ओलीलाई साथ दिएका थिए ।

शुक्रबार बस्ने तय भएपछि अ‍ोली र प्रचण्ड-नेपाल समूहका नेताहरुले बिहीबार भिन्दाभिन्दै छलफल गरे । उनीहरु आफ्नै तयारीमा र रणनीतिका साथ बैठकमा बस्ने भएकाले पनि सचिवालय बैठक सहन नहुने संकेत गर्दछ । यसबीचमा एकअर्का समूहले विरोधीमाथि दबाब बनाउन चालेका कदम, यहीबेला नेताहरुबीच उत्पन्न अविश्वास र उनीहरुले दिएका अभिव्यक्तिले शुक्रबारको बैठक सहज नहुने भने निश्चत छ ।

दाहाल-नेपाल समूहले आजको बैठकमा स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नभएको विषय, स्थायी कमिटी निर्णयविपरित मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशको पार्टी विवाद, भारतीय गुप्तचर रअका प्रमुखको नेपाल भ्रमण, कोभिड-१९ को अवस्था, संघीयताको मुद्दालगायतका विषय उठाउने तयारी छ । ओली समूह भने सरकारविरुद्ध घेराबन्दी भएको भन्दै त्यसको प्रतिवादमा उत्रने तयारीमा छ । बैठकका लागि औपचारिक एजेण्डा भने तय भइनसकेको बताइन्छ ।

प्रतिक्रिया