म्युजिक भिडियोमा जम्दै ‘एलिजा गौतम’

काठमाडौं । सञ्चारकर्मी ऋषी धमलासँग विवाह गरेपछि कलाकारितामा आएकी एलिजा गौतम होम प्रोडक्सनको फिल्म ‘अनुराग’बाट नेपाली रजतपटमा डेब्यू गरेपनि फिल्मले सफलता नपाएपनि कलाकारितामा छिराउने माध्यम चैं बन्यो ।

अभिनयमा पोख्त नभएपनि चर्चित सञ्चारकर्मीकै श्रीमती भएकाले एलिजालाई कलाकारितामा आउने बाटो बनेकोमा दुईमत थिएन । तर, लकडाउन यताभने एलिजाको परिचय ऋषी पत्नी भनेर भन्दा पनि कलाकार भनेर चर्चामा आएको छ ।

दुई सन्तानकी आमासमेत रहेकी एलिजाको फिटनेश गज्जबको छ । त्यहि भएर केही महिना यता उनी म्युजिक भिडियोहरुमा छाइरहेकी छन् । लकडाउनकै बेला उनले पहिलो पटक नायक पल शाहसँग एक म्युजिक भिडियोमा रोमान्स गरिन् ।

गायक निशान भट्टराई र सोनिका लामाको स्वरमा रहेको ‘आटो पिठो’ बोलको गीतमा एलिजाले चकलेटी नायक पल शाहसँग छमछमी नाचेकी छन् । दुई साता अघि सार्वजनिक भएको म्युजिक भिडियोमा एलिजाको मेहनत राम्ररी देख्न सकिन्छ ।

लाइमलाइट नेपालबाट सार्वजनिक भएको म्युजिक भिडियो हेरेर धेरैले एलिजाको सुन्दरता र अभिनयलााई मन पराएको प्रतिक्रिया दिएका छन् । लकडाउन यता चारवटा म्युजिक भिडियोमा खेली सकेकी एलिजाको आधी कपाल समेत चर्चामा आयो । दुर्गेश थापा र एलिजा अभिनित म्युजिक भिडियोले पनि एलिजालाई चर्चामा ल्याएको छ ।

‘किन यस्तो भो’ बोलको गीतमा दुर्गेश थापाको गीतमा एलिजाको सुन्दरता मज्जाले खुलेको छ । पल शाहसँग उनको जोडी सुहाएको छ । दसैं छेक आएको सानु बोलको दसैं तिहारको गीतमा पनि एलिजा आकाश श्रेष्ठसँग देखिएकी छन् ।

दुई दिनअघि समिक्षा अधिकारीको गीत ‘यो धड्कन’ मा पनि एलिजा छाएकी छन् । आशिष कुमारसँग प्रेमलयमा देखिएकी एलिजालाई बोल्ड रुपमा देख्न सकिन्छ ।

कोरोना भाइरसका कारण चलचित्र क्षेत्र थन्किएको बेला एलिजाले भने समयको सदुपयोग गर्दै आफुलाई म्युजिक भिडियोमा अगाडी बढाएकी छन् । चार–पाँच महिनामा झण्डै आधा दर्जन म्युजिक भिडियोमा देखापरेकी एलिजाले आफ्नो अभिनयलाई समेत निखार्दै कलाकारितामा जम्ने प्रयास गर्दैछिन् ।

प्रतिक्रिया