‘कसरी राम्रो सिर्जना गर्ने होला भन्ने कुराले सताइरहेको हुन्छ’– नरेश खाती क्षेत्री (भिडियोसहित)

  • एन्जिला क्षेत्री

काठमाडौं । नेपाली लोक गीत संगीत दिनानु दिन राम्रो बन्दै गएको छ । लोक गीत संगीत हाम्रो पहिचान हो । परापुर्वकालदेखि चल्दै आएको लोक गीत संगीतले पछिल्लो समय राम्रैसँग बजार तताइरहेको छ । राम्रा सर्जकहरू भित्रिने क्रम पनि जारी छ भने पुराना सर्जकहरूले पनि उत्कृष्ट सिर्जना गरिरहेका छन् । यी नै राम्रा र उत्कृष्ट तथा अब्बल सर्जकका रूपमा स्थापित छन् नरेश खाती क्षेत्री ।

उनि सर्जक मात्र होइन, गायकका रुपमा पनि स्थापित भइसकेका छन् । नरेशको पहिलो सिर्जना ‘सानु कहाँ छौ’ ले पनि राम्रैसँग बजार तताएको थियो । उनले विशेषगरी गाउँ, घर, डाँडा, पाखा, उकाली, ओराली, मेला, पात, भञ्ज्याङ, चौतारीतिर धेरै मात्रामा सुन्ने र गुनगुनाउने टिपिकल अर्गानिक शब्दलाई टपक्क टिपि आफ्नो सिर्जना मार्फत् दर्शक स्रोताहरुको मन जितिरहेका छन् ।

नरेशले गीत संगीत क्षेत्रमा संघर्ष गर्न थालेको झण्डैँ एक दशक बितिसकेकाे छ । याे समयमा उनले करिब ४०० वटा गीत सिर्जना गरिसकेका छन् भने करिब १० वटा गीतमा स्वर पनि भरसिकेका छन् । पछिल्लो समय एकपछि अर्को हिट गीतहरु दर्शक स्रोताहरुलाई पस्किरहेका उनी चिनको वुहानबाट विश्व भरि फैलिएको नोबेल कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन भने सकेनन् । बिगत ८ महिनादेखि नेपाली कला क्षेत्र ठप्प छ । उनकाे काममा पनि ब्रेक लागेकाे छ ।

भिडियाे :

यहि कोरोनाको बिचमा नरेशले ‘माया मारेर’ बोलको गीत बजारमा ल्याएका थिए । जसलाई दर्शकले अत्यधिक मन पराए । उनि एक अब्बल सर्जक हुन भन्ने त दर्शकलाई अवगत थियो नै तर, माया मारेर पछि नरेशले पनि राम्रो गीत गाउने रहेछन् भन्ने दर्शकहरुलाई एक किसिमको छाप परेकाे छ ।

नरेशका सिर्जनाहरु प्रायः उनका भाइ मेक्सम खाति क्षेत्रीले गाउने गर्छन् । मेक्सम कार्यक्रमका सिलसिलामा अमेरिका गएका थिए । लकडाउनका कारण उनि अहिले अमेरिकामै छन् । भाइ उतै भएका कारण नरेश आफैँले गीत गाएका हुन् ।    

त्यस्तै नरेशले भर्खर मात्र ‘पिपलु बर’ बोलको गीत पनि बजारमा ल्याएका छन् । यो गीतमा पनि उनी स्वयमले स्वर दिएका छन् । यो गीतमा नरेशले अहिलेको जल्दोबल्दो चक्लेटी नायक पल शाहलाई भिडियोमा राखेका छन् । भन्छन्–‘हामी एकै ठाउँका हाैँ, त्यसमाथि साथी पनि । आत्मीयताको हिसाबले नजिक भएपनि सँगै काम भने गर्न पाएका थिएनाैँ । याे गीतबाट उहाँसँग काम गर्ने इच्छा पुरा भएकाे छ ।’

नरेशले यो भन्दा पहिला सानु कहाँ छाै, रुँदै रुँदै तिम्रो शहर, पुकुली माया, मेरी छोरी, मेरो बाबा भगवान, लगायतका थुप्रै गीतहरु सिर्जना गरिसकेका छन् । भन्छन्–‘मलाई सधैँ कसरी राम्रो सिर्जना गर्ने होला भन्ने कुराले सताइरहेको हुन्छ ।’

प्रतिक्रिया