कर्णाली प्रतिष्ठानको ताला खुलाउन पदाधिकारीलाई छैन चासो, उपकुलपतिले धम्की दिएकाे आराेप

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २३ दिनदेखि लागेको ताला खुलाउने विषयमा पदाधिकारीहरुको गम्भिर नहुँदा प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक काम प्रभावित भएको छ ।

प्रतिष्ठानका उपकुलपतिले नियमविपरित कर्मचारी नियुक्ति गरेको भन्दै आन्दोलनमा उत्रिएको कर्मचारी कल्याणकारी समाजले प्रतिष्ठानको केन्द्रीय कर्मचारी प्रशासन र शैक्षिक प्रशासनमा लगाएको ताला तीन साता वितिसक्दा समेत खुलाउने पहल नभएको हो । कोरोना संक्रमणले प्रतिष्ठानको शैक्षिक कार्यक्रम प्रभावित भएपनि केन्द्रीय प्रशासनिक कार्यालयमा लागेको तालाबन्दीले रजिष्ट्रार कार्यालयबाट हुने सबै काम प्रभावित भएका छन् ।

प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले प्रतिष्ठानको समस्या हल गर्न पदाधिकारीहरु गम्भिर नभएको बताए । ‘प्रतिष्ठानको समस्या प्रतिष्ठानभित्रै समाधान होला, पदाधिकारीहरुले हाम्रा जायज मागहरु संवोधन गर्लान् भनेर आश गरेका थियौं, आज २३ दिन भइसक्यो कुनै पहल गर्नुभएको छैन ।’ उनले भने ।

प्रतिष्ठानमा लागेको ताला खुलाउन तथा कर्मचारीसँग वार्ता गर्न भनेर उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्ले कात्तिक १३ गते नै काठमाडौंबाट जुम्ला हिँडेर ६ दिनपछि जुम्ला आएर प्रतिष्ठानभित्र नआई होटलमा बसेका छन् ।

उपकुलपति डा. वाग्ले प्रतिष्ठान नआइकन जुम्ला होटलमा बसेर आफुहरुलाई धम्कीपूर्ण रुपमा टेलिफोन गरेको अध्यक्ष उपाध्यायले बताए । ‘१३ गते वार्ताको लागि काठमाडौंबाट हिंडेको १९ गते दिउसो २ बजे जुम्ला आइपुगेपछि प्रतिष्ठानभन्दा ५ सय मिटर अगाडी होटल दौतरीमा बस्नु भएको छ । विभिन्न धम्कीपूर्ण भाषा प्रयोग गर्दै होटलमा आएर व्यक्तिगत रुपमा भेट्न दवाव दिनुभइरहेको छ ।’ उपाध्यायले भने ।

उपकुलपति राजधानीमा हुँदाहुँदै कर्मचारीहरुकै पहलमा प्रतिष्ठानको समस्या समाधान गर्न केही पदाधिकारीसँग वार्ताबसेपनि उपकुलपति विना बर्ता अगाडी बढेको थिएन ।

कात्तिक ५ गते आन्दोलनरत कर्मचारी र प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, कार्यकारी परिषद् सदस्य अनुप डंगोल समालविच वार्ता भएको थियो । उक्त वार्तामा रजिष्ट्रार र शिक्षाध्यक्षले आफुहरुले केही गर्न नसक्ने जवाफ दिएको अध्यक्ष उपाध्यायको तर्क छ । ‘हामी तपाईहरुको मागप्रति सकारात्मक छौं, तर कार्यकारी परिषद्को प्रमुख उपकुलपति भएकाले उहाँले स्विकार्नु हुन्न, उहाँ विना केही गर्न सक्दैनौं भन्ने जवाफ आयो ।’

समाजले प्रतिष्ठानको आन्तरिक विवाद प्रतिष्ठानभित्रै समाधान गर्न चाहिरहेको छ । आज २३ दिन सम्म तालाबन्दी भएपनि नागरिक समाज र राजनीतिक दल नगुहारेको समाजले अब भने जुम्लाका स्थानीय निकाय, राजनीतिक दल र नागरिक समाज गुहार्ने मनस्थिति बनाएको छ ।

‘घरसल्लाह जस्तो प्रतिष्ठानभित्रै समस्या समाधान गरौं भनेर नागरिक समाज, राजनीतिक दलहरु गुहारेका छैनौं तर, पदाधिकारीहरु समस्या समाधान गर्न गम्भिर भएनन् अब नागरिक समाज र राजनीतिक दल गुहार्ने अवस्था आएकाले त्योपनि गर्न बाध्य हुन्छौं ।’ अध्यक्ष उपाध्यायले मकालु खबरसँग भने ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले कर्मचारीहरुका मागका विषयमा दसैं अगाडी नै छलफल भइसकेको र उपकुलपति नहुँदा निर्णय गर्न नसकिएको बताए । समाजले उठाएका कतिपय जायज मागहरु संवोधन गर्न कार्यकारिणी समितिको प्रमुख नहुँदा रोकिएको भएपनि उपकुलपति प्रतिष्ठान आइसकेकोले केही दिनमै बार्ता बस्ने बताए । ‘उहाँहरुका माग नाजायन भन्न मिल्दैन, दसैं अगाडी पनि तीन पल्ट उहाँहरुसँग छलफल गरेका थियौं, उपकुलपति ज्यू जुम्ला आइसक्नु भएको छ, म आइसोलेसनबाट निस्कने वित्तिकै छलफल हुन्छ ।’ काफ्लेले भने ।

यस सम्बन्धमा प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया