मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

‘हाकिमको दशैं’ (लघुकथा)

डा. रेणुका सोलु

“हाकिमसा’ब नमस्कार ! दशैं खर्च उठाउँदै आएको हजुर !”, कार्यालय सहयोगी आफ्नो हातमा हाकिमदेखि खरदारसम्मको नाम अनि रकम कम्प्युटर टाइप गरेर देखाउँन थाल्छन् । हाकिमले दुई हजार झिकेर दिन्छन् । एकैछिन पछि कुचिकार त्यस्तै लिष्ट लिएर पस्छन् । उनलाई पनि हजारको दुई’टा नोट झिकेर दिन्छन् हाकिम ।

कुचिकार निस्किनासाथै सुरक्षा गार्ड पस्छन् र उसैगरी नमस्कार गर्छन् । उनलाई पनि त्यति नै रकम दिएर आफ्नो पर्स गोजीमा राख्न नपाउँदै चार/पाँच जनाको जत्था भित्र पस्छन् अनि उही दशैं खर्चको कुरा गर्न थाल्छन् । “तपाईंहरुको त यो काठमाडौंमा अहिले काम पनि छैन, आफ्नो गाउँघरमा गएर खेतीपाती या व्यापार व्यवसाय जे गरे नि हुन्छ, यसरी मागेर खानु नै त पर्दैन नि, यस्तो युवा जोस जाँगरको समय पनि मगन्ते भएर बिताएपछि कसरी बन्छ संमृद्व नेपाल ? नाराले मात्रै बन्ने हो र ? काममा सिन्को नभाँचेपछि ……।” हाकिम अलि कड्किन्छन् ।

“हामी गाउँमा बसौं या शहरमा, त्यो सिकाउने काम तपाईंको होइन, खुरुक्क दशैं खर्च दिनुस् होइन भने दशैंलगत्तै कुर्सीको म्याद पनि सकिएला होस गर्नुस् ।”

यो हर्कत सुनिरहनु भन्दा त बरू पन्छाइहाल्नुपर्यो भनेर हाकिमले हजारका पाँचवटा नोट झिकेर दिन्छन् । तर, जत्थाभित्रको एउटा बुर्लुक्कै उफ्रिन्छ । “ए ! हामी भिखारी हो र ? यो भीक्षा दिएको ? पाँच संगठनका नेता छौं यहाँ हामी, एउटा संगठनलाई कमसेकम दस हजारका दरले मात्र भए पनि पचास हजार चाहिन्छ हामीलाई ।”

“संस्थागत दिन अख्तियारले बन्देज गरेको छ, व्यक्तिगत दिन मेरो आफ्नै दशैं खर्च त्यति आएको छैन अनि कसरी दिनु त मैले चाहिँ ?” हाकिम निन्याउरो मुख लगाउँछन् । “त्यो कुरा हामीलाई सुनाउने होइन, हाकिमको इज्जत त राख्नुपर्यो नि ! यत्रो ठूलो हाकिम भएर यति ठूल्ठूला संगठनलाई जाबो एक/एक हजार दिन अलिकती पनि असजिलो लाग्दैन ? अति गर्नु अत्याचार नगर्नु यार ! कस्तो कञ्जुस हाकिम….”

हाकिमको मोबाइलमा घन्टी बज्छ “हेल्लो बाबा ! हेर्नू न परीक्षा दिँदादिँदै वाईफाई गयो, मैले कल गरेको पेमेन्ट गर्न ढिला भएको रे, अब परीक्षा नै रोकियो, लौन बाबा के गर्ने ? छिट्टै अनलाइन पेमेन्ट गरिदिनुन, नत्र त मेरो परीक्षा छुट्नेभो….”

अनलाइन परीक्षा दिँदै गरेको छोराको कुरा टुङ्गिन नपाउँदै अर्को सानो छोरा बोल्न थाल्छ । “हेल्लो बाबा बाबा, पल्लो घरको सबैजना बजार गएर दशैंको सपिङ्ग गरिसके, हामी पनि जाउन, हजुर चाँडो आउनु न घर….।”

प्रतिकृयाहरु
Loading...