यसरी भित्र्याइयो हनुमानढोका दरबारको दशैँघरमा फूलपाती (फोटोफिचर)

काठमाडौँ । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । हनुमानढोका दरबार नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैँघरमा फूलपाती भित्र्याइएको हो ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित व्यक्तिले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर फूलपाती ल्याएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएकामा यस वर्ष विधि मात्र गरेर पूरा गरिएको छ ।

यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट आएको सशस्त्र प्रहरीको समूह र मङ्गल धुन गाउने मङ्गलिनी समूहको सहभागिता रहेको उनले बताए।

राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार संग्रहालय विकास समितिले जनाएको छ । यस वर्ष भने कोरोनाका कारण औपचारिक कार्यक्रम नगरी परम्परागत रुपमा मात्र फूलपाती भित्र्याइएको छ ।

आश्विन शुक्ल प्रतिपदामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने हिन्दूको महान् चाड दशैँको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गरेकामा यस वर्ष त्यति छैन ।

आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे, जाँते र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन । बजारमा आज पनि किनमेल गर्नेको भीड देखिन्छ । विशेषगरी खाद्य सामग्रीका पसलमा मानिसको भीड छ ।

 

प्रतिक्रिया