विश्वमा कोभिड-१९ सङक्रमितको संख्या चार करोड १५ लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड १५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ ।

उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड १५ लाख ९३ हजार ३९७ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ३७ हजार ८७६ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये तीन करोड ९ लाख ६५ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८५ लाख ८५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ । उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख २७ हजार ४१९ जनाको मृत्यु भएको छ । उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ । भारतमा ७७ लाख ८ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्रांजिलमा करिब ५३ लाख व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ । रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ६३ हजार ३०६ जना सङ्क्रमित रहेका छन् ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६८ लाख ७४ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो । एजेन्सी

प्रतिक्रिया