दुर्लभ ‘रेडपाण्डा’को छालासहित चार जना पक्राउ

कर्णाली । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नौमुले गाउँपालिका-२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका-३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका-९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

वीरेन्द्रनगर-६ स्थित गोदाम लाइनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । रासस

प्रतिक्रिया