निर्माताहरु चुपचाप, कलाकारहरु म्युजिक भिडिओ तिर

काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड १९)का कारण नेपाल सरकारले गत वर्षको चैत ११ गतेदेखि कडाईका साथ लकडाउन गर्यो । लकडाउन हुनुभन्दा केहीदिन अगाडि मात्र केही चलचित्रहरुले रिलिजको समय तय गरेका थिए ।

केही चलचित्रहरु फ्लोरमा जाने तयारीमा र केही फ्लोरमा गइसकेका थिए । लकडाउन सटडाउन हुँदै निषेधाज्ञा भर्खरै खुलेको अवस्था छ । विगत ७ महिनादेखि ठप्प रहेका व्यवसायहरु भर्खरै सञ्चालनमा आएपनि मनोरञ्जनको क्षेत्र खासरी चलचित्र क्षेत्र र हलहरु खुलेका छैनन् ।

सरकारले आन्तरिक हवाई उडान, लामो दूरीका यातायात, होटल खुल्ला गरेपनि चलचित्र क्षेत्रलाई भने वास्ता नगरेपछि ठूलो पर्दाका कलाकारहरु सानो पर्दा अर्थात म्युजिक भिडिओ तर्फ लागेका छन् । ठूला ब्यानरका चलचित्रहरुको काम नभएपनि टेलिचलचित्र र म्युजिक भिडिओको कामभने सुरु भएको अवस्थामा स्टार कलाकारहरु पनि म्युजिक भिडिओमा छिरेका छन् । महानायक राजेश हमालदेखि अहिलेका राम्रा कलाकार आकाश श्रेष्ठसम्म म्युजिक भिडिओमा व्यस्त छन् ।

दसैं तिहार जस्ता ठूला चाडपर्वमा चलचित्र रिलिज गर्दा नाम र दाम दुवै कमाइ हुन्थ्यो । लगानीकर्ताहरुको लगानी पनि जोगिने गर्दथ्यो । तर, यो वर्षको नयाँ वर्षमा पनि चलचित्र रिलिज हुन पाएनन् । त्यस्तै तीजमा पनि चलचित्र रिलिज हुन सकेनन् । भने, चलचित्रले बम्पर व्यापार गर्ने दसैंमा समेत हलहरु खुल्न नसकेपछि चलचित्र क्षेत्रमा सक्रिय रहेका कलाकार प्राविधिकहरु म्युजिक भिडिओ तर्फ छिरेको एक कलाकारले बताए ।

‘दसैं हल सञ्चालक र निर्माताकालागि लगानी उठाउने ठूलो समय हो तर, यसपटक कोरोना संक्रमणले सब चौपट पारिदियो ।’ एक फिल्म निर्माता दुखेसो पोख्छन् ।

रिस्क लिन चाहँदैनन् निर्माताहरु

कुनै बेला वर्षको दुई तीन वटा चलचित्र निर्माण गर्ने निर्माता निर्देशकहरु यो बेला नयाँ चलचित्र बनाएर लगानी डुवाउने पक्षमा छैनन् । कथंकदाचित सरकारले हलहरु खोलिहाले पनि दर्शकहरु आउँछन् भन्ने ग्यारेण्टी नभएकाले निर्माताहरु रिस्क लिन चाहिरहेका छैनन् ।

दसैं, तिहारकै छेकोमा एक दर्जन नयाँ चलचित्र रिलिजको क्रममा थिए । तर, कोरोना संक्रमण बढेपछि उनीहरुले आफ्ना चलचित्रलाई पर सार्दै गइरहेका छन् । केही निर्माताहरुले सानो पर्दा, युट्युव, नेट टिभी तथा डिसहोमबाट चलचित्र प्रदर्शनको सोच बनाएपनि हिम्मत गर्न सकेनन् ।

बाँच्नका लागि म्युजिक भिडियोमा

कतिपय कलाकारहरु चलचित्र नबनेकाले बाच्नकै लागि म्युजिक भिडिओमा प्रवेश गरेका छन् । चलचित्र क्षेत्रमा संघर्ष गर्दै गरेका कलाकारहरुलाई राजधानीमा बाच्नै नसक्ने अवस्था सृजना भएको छ । ‘पुराना कलाकारहरुलाई त समस्या पर्न थालिसक्यो, नयाँको त झनै विजोक छ । बरु दसैं खर्च र काठमाडौंमा फ्याटको भाडा तिर्न मात्रै पुगेपनि हुन्छ भन्नेहरु धमाधम म्युजिक भिडिओ तर्फ लागेका छन् ।’ एक कलाकार भन्छन् ।

चलचित्र क्षेत्र ठप्प भएपछि युट्युव, नेटफ्लिक्स जस्ता सामाजिक सञ्जाल हेर्नेहरुको संख्या ह्वात्तै बढेको छ । म्युजिक भिडिओहरु पनि युट्युवमा राखेर राम्रो पैसा आर्जन गर्न सकिन्छ । त्यहि भएरपनि कलाकारहरु सानो पर्दा र म्युजिक भिडिओमा लागेका हुन् ।

प्रतिक्रिया