कर्णाली प्रतिष्ठानको ताला खुलाउन उपकुलपति गम्भिर नभएको आरोप

काठमाडौं । नियम विपरित डीन नियुक्तिको विरोधमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला अझै खुलेको छैन । प्रतिष्ठानका पदाधिकारीहरु गम्भिर नहुँदा प्रतिष्ठानको शैक्षिक तथा केन्द्रीय प्रशासन कार्यालयमा एक सातादेखि लगाइएको ताला खुल्न नसकेको हो ।

प्रतिष्ठानको केन्द्रीय प्रशासनमा तालावन्दी हुँदा प्रशासनिक कामहरु रोकिएका छन् । तर, पदाधिकारीहरुलाई सोको कुनै चिन्ता छैन ।

प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले एक साता अघि असोज २६ गते उपकुलपति डा. राजेन्द्रराज वाग्लेले प्रतिष्ठानको नियम विपरित जनस्वास्थ्य संकायमा तेस्रो डीन नियुक्ति गरेको विरुद्धमा विभिन्न माग राखि तालावन्दी गरेपनि कर्मचारीहरुको माग संवोधन गर्न पदाधिकारीहरु गम्भिर नभएको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले बताएका छन् ।

समाजले आज एक अपिल जारी गरी असोज २८ गतेदेखि लगाइएको ताला खुलाउन तथा कर्मचारीहरुका जायज मागहरु संवोधन गर्न पदाधिकारीहरु जिम्मेवार नभएकोले आन्दोलनका कार्यक्रम यथावत रहने समेत बताएको छ । ‘प्रतिष्ठानका उपकुलपति काठमाडौंको सम्पर्क कार्यालयमा रहेर यहाँको माहौल बुझिरहनु भएको छ, उहाँ हाम्रा माग र प्रतिष्ठानको हितका लागि गम्भिर भएको पाएनौं ।’ अध्यक्ष उपाध्यायले भने ।

पदाधिकारीहरुबाट आन्दोलनको विषयमा अहिलेसम्म कुनै पनि प्रतिक्रियाहरु नआएकाले उनीहरु प्रतिष्ठान र पिछडिएको क्षेत्रप्रति उत्तरदायी भन्दा पनि बन्दका कार्यक्रमहरुलाई विदाको रुपमा उपभोग गरी कर्मचारी कल्याणकारी समाजलाई उत्तेजित पर्ने तथा प्रतिष्ठानलाई झन धरासायी बनाउन खोजेको होकि भन्ने चिन्ता भएको समाजले बताएको छ । साथै समाजले आफ्ना आन्दोलनहरु यथावत रहने पनि भनेको छ ।

प्रतिष्ठानका उपकुलपति गैरजिम्मेवार बन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक, शैक्षिक, प्रशासनिक तथा स्वास्थ्य सेवा नै धरासायी हुँदै गएको एक कर्मचारीले बताए । प्रतिष्ठान सञ्चालनमा असर पर्छ भनेर उपकुलपतिले दर्जनौ पटक नीतिगत भ्रष्टाचार गर्दा समेत चुप लागेर बस्नाले उपकुलपतिको मनोपोली बढेको उनको भनाई छ ।

‘उपकुलपतिले डाइरेक्ट आर्थिक भ्रष्टाचार त गरेनन् तर, नितीगत भ्रष्टाचारका चाङ छन् । अख्तियार, स्वास्थ्य मन्त्रालयले पनि यहाँको विक्रिति विसंगतिका सम्बन्धमा विषयमा गम्भिरतापूर्वक छानविन नगर्दा उपकुलपतिको दादागिरी बढेको छ ।’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने ।

प्रतिष्ठानको आन्दोलनका विषयमा रजिष्ट्रार विश्वराज काफ्ले तथा उपकुलपति डा. वाग्लेसँग मकालु खबरले फोन सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।

प्रतिक्रिया