कर्णाली विवाद : ओली-प्रचण्डकाे भेटवार्ता सकियाे, आजपनि मिलेन कुरा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचकाे भेटवार्ता सकिएकाे छ । कर्णाली प्रदेशकाे विवाद सल्ट्याउन छलफलमा जुटेका ओली र प्रचण्डबीचकाे आजकाे वार्ता सकिएकाे हाे ।

यद्यपी दुवैबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे छलफलमा निष्कर्ष भने निस्किएन । भेटवार्तामा प्रचण्डले कर्णालीमा देखिएको पार्टी विवादलाई केन्द्रबाट हस्तक्षप नगर्न ओलीलाई आग्रह समेत गरेका थिए । प्रेस संयाेजक विष्णु सापकोटाका अनुसार प्रचण्डले प्रदेश कमिटी अन्तर्गत नै समस्या समाधान गर्न प्रस्ताव पनि राखेका थिए ।

प्रचण्डको प्रस्तावमा ओलीले भने कुनै प्रतिक्रिया नदिएकाे बताइएकाे छ । मंगलबारकाे भेटवार्तामा प्रचण्डले केन्द्रको निर्देशन अनुसार महाअभियोगको प्रस्ताव आएको भन्दै असन्तुष्टि जनाएका थिए ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासकाे प्रस्ताव आएपछि ओली र प्रचण्डबीच फेरि तिक्तता बढेकाे छ । त्यहाँकाे विवाद समाधानका लागि विवाद सुरू भएदेखि नै प्रचण्ड सक्रिय भएर लागि परेका छन् । उनले प्रम ओलीसँग लगातार छलफल गरिरहेका छन् ।

प्रचण्डले मुख्यमन्त्री शाही पक्ष र अविश्वासकाे प्रस्ताव दर्ता गराउने पूर्व एमालेका नेता यामलाल कँडेलसँग पनि छलफल गरिसकेका छन् । ओलीले पनि छुट्टा छुट्टै छलफल गरिसकेका छन् ।

कार्तिक १ गते ओलीले कर्णालीका नेताहरुलाई राखेर छलफल गर्न खोजेपनि प्रचण्डले भेट बहिस्कार गरेका थिए । त्यसयता ओली-प्रचण्डको बिवाद झनै बढेको बताइएको छ । पार्टीमा लामो समयसम्म देखिएको विवाद समाधानका लागि भएको सम्झौता कार्यान्वयन नहुँदै फेरि विवाद सुरु गरेको प्रचण्डकाे आरोप समेत छ ।

प्रतिक्रिया