माधव नेपालले गरे सरकारकाे निर्णयकाे विराेध, भने- ‘यस्तो निर्णय विल्कुल अनुचित छ’

काठमाडाैं । सत्तारूढ नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले काेभिड १९ संक्रमणले मुलुक आक्रान्त भइरहेका बेला सरकारले नागरिकलाई आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी जारी गरेकाेमा आपत्ति जनाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दुई दिनअघि मात्रै अग्रपङ्तिमा खटिएका, विपन्न वर्ग तथा अति अशक्तहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने निर्णय भएकाे जानकारी गराएका थिए । अन्य नागरिकहरूले भने आफ्नै खर्चमा कोरोना परीक्षण र उपचार गर्नुपर्ने उनकाे भनाइ थियाे ।

उक्त निर्णय भएसँगै अधिकांश अस्पतालले साेही अनुसार काेराेना संक्रमितकाे उपचार शुल्क लिन सुरू गरिसकेकाे अवस्थामा वरिष्ठ नेता नेपालले सरकारकाे निर्णयप्रति आपत्ति जनाएका हुन् ।

‘मुलुक कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ नेता नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् । संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ ।’

यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने उनकाे भनाइ छ । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भिर विषय भएकाे उनले बताए ।

नेता नेपालले उक्त निर्णय फिर्ता लिन पनि सरकारसँग माग गरेका छन् । ‘संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु’, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया