प्रधानमन्त्रीसहित सबै मन्त्रीको दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने सरकारकाे निर्णय

काठमाडौं । काेराेना संक्रमणकाे अवस्थामा मन्त्री, सांसद तथा नेताहरूलाई दशैं भत्ता दिने विषयकाे चर्काे आलोचना भएपछि प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले दशैं भत्ता बापतकाे रकम काेराेना काेषमा जम्मा गर्ने भएका छन् ।

साेमबारकाे नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दशैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको छ ।’

यस्तै उनले संघीय मन्त्रीपरिषद्को निर्णयको मर्म अनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय पनि भएकाे जानकारी दिए । नेकपा, कांग्रेस लगायत अन्य दलका केही सांसदहरूले यसअघि नै भत्ता फिर्ता दिने निर्णय गरिसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरूले पनि भत्ता फिर्ता गर्नुपर्ने कुरा उठ्दै आएको थियो ।

प्रतिक्रिया