कांग्रेसका सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने, प्रकाशमानले भने- भत्ताका नाममा बद्नाम गर्ने दुराशय

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सबै सांसदहरूले दशैं भत्ता फिर्ता गर्ने भएका छन् । काेराेना महामारीका समय सांसदहरूले दशैं भत्ता लिएकाे भन्दै आलोचना हुन थालेपछि कांग्रेसका सबै सांसदहरूले दशैं भत्ता फिर्ता गर्ने भएका हुन् । सांसद डिला संग्राैला, मिनेन्द्र रिजाल लगायतले पनि फिर्ता गर्ने निर्णय गरेका छन् ।

यसअघि सांसद गगन थापाले सुरूवातमै विराेध गरेका थिए । उनले संघीय संसद सचिवालयलाई भत्ता फिर्ता लिन समेत भनेका थिए । आज (सोमबार) मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले सबै सांसदहरूलाइ दशैं भत्ता फिर्ता गर्न निर्देशन दिइसकेका छन् । सभापति देउवाले जनता उपचार नपाएर छट्पटाइरहेको अवस्थामा सांसदले भत्ता दिने निर्णय गर्ने संसद सचिवालयको कमजोरी भएको बताएका छन् ।

नेता प्रकाशमान सिंहले एकातिर जनतालाई पीसीआर परीक्षण समेत आफ्नै खर्चमा गर भन्ने र अर्कोतिर संघीय सांसदहरुलाई दशैंभत्ता दिने सरकारी निर्णय निन्दनीय भएको बताएका छन् । सिंहले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आफू भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको सरकारले अन्य राजनीतिक दल र सांसदहरुलाई पनि दशैं भत्ताका नाममा बद्नाम गर्ने दुराशय राखेको प्रष्ट छ । महामारीका बेलामा सांसदहरुलाई दशैं भत्ता दिएर जनताको नजरमा आलोचित बनाउने सरकारको सुनियोजित योजनाविरुद्ध कांग्रेस उभिनुपर्छ, उभिन्छ ।’

नेकपासहित अन्य दलका केही सांसादहरूले पनि दशैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन् । सांसद भीम रावलले संघीय संसद सचिवालयलाई आइतबार पत्र लेख्दै भत्ता कट्टा गर्न आग्रह नै गरेका छन् । आफ्नो खातामा पठाएको भत्ता फिर्ता लिन प्रक्रियागत अप्ठेरो आइपरे चेक वा अर्को महिनाको पारिश्रमिकबाट कट्टी गर्ने विकल्पसमेत रावलले संसद सचिवालयलाई दिएका छन् ।

नेकपाका सांसदहरू जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतले पनि दसैं भत्ता लिनु उचित नहुने बताएका छन् । जनार्दन शर्माले दशैं भत्ता दिनुभन्दा भेन्टिलेटर किनाैँ भन्ने प्रस्ताव समेत गरेका थिए । उनले आएको दसैं भत्ता कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उनलाई हस्तान्तरण गरेकाे पनि बताएका छन् ।

नेकपा प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यवापत् आउने पारिश्रमिक र भत्ता एक वर्ष नलिने यसअघि नै घोषणा गरेका थिए । उक्त रकम उनले कोरोना नियन्त्रण तथा उपचारका लागि खर्च गर्न सरकारलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया