काेराेना संक्रमणबाट विराटनगरका दुई र बर्दियाका एक पुरुषको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विराटनगरका दुई र बर्दियाका एक पुरुषको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको कोभिड वार्डमा उपचाररत तीन पुरुषको मृत्यु भएको हो ।

कोशीमा उपचारत विराटनगर महानगरपालिका १२ का ५५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुष असोज १३ गते अस्पताल भर्ना भएका थिए । उनी मधुमेहका रोगी समेत थिए ।

यस्तै नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा क्यान्सरको समस्याबाट पीडित विराटनगर ७ का ८६ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको छ ।

उनलाई उपचारका लागि असोज २५ गते भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकका परिवारका सदस्य समेत संक्रमणका कारण होम आइसोलेसनमा छन् ।

उता भेरी अस्पताल नेपालगञ्जमा बर्दियाको ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको छ । उनीमा असोज १६ गते कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

प्रतिक्रिया