मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

चिया, बगैंचा, मान्छे र पुतली [शनिबारीय कोशेली]

कथा

  • अमीर मगर

काठमाडौं । आज धेरै वर्षपछि एउटा साथी चिया पिउने निहुमा भेट्न आएको छ मलाई । अचम्मको कुरा के भने, ऊसँग यो जुनीमा फेरि भेट होलाजस्तो मलाई लागेको थिएन । किनभने, आजभन्दा आठ बर्षअघि उसको मृत्यु भएको थियो ।

म एकछिनसम्म आफ्नो चुरोटबाट निस्कँदै गरेको धुवाँको बहकाव हेरिरहन्छु, टोलाइरहन्छु ।

‘तँ कसरी आइस् आज एक्कासी ?’ कस्तो अर्कै लागिरहेको छ तँलाई यसरी भेट्दा ।’

साथी मतर्फ हेर्दै हाँस्छ । एक सुर्को चिया पिउँछ, मुखभित्र चियाको स्वाद खेलाउँछ अनि बोल्छ–‘तेरो याद आइरा’थ्यो, आज मौका जुर्यो अनि हिँडेको तँलाई भेट्न ।’

म पनि चियाको एक चुस्की लिन्छु, चिया बेस्वादको छ । या भनुँ केही स्वाद नै छैन । मलाई आभाष हुन्छ– मेरो जिब्रोले, मेरो मस्तिष्कले स्वाद बिर्सिएको धेरै भइसक्यो ।

‘किन मलाई किन किन यो सपनाजस्तो लाग्दैछ ।’ म उसको अनुहार नहेरिकन भन्छु ।

उसको कपको होल्डर बडो गजबको छ, राता निला फूलहरू कुदिँएका । बाँकी कप एकदम बेरङ्गी छ । मेरो कप भने पूरै बेरङ्गी ।

साथी अब झन् बेजोडले खित्का छोड्छ । ‘सपना सोच्छस् भने सबै सपना नै त हो । ‘झुवान्जी’ले भनेझैं हामी सबै ‘सपना मान्छेका सपना देखिरहेका पुतलीहरू नै हौं ।’

म उसको लवज सुनेर घोरिइरहन्छु ।

‘तँ मरेको होइन र ? मैले तेरो लाश देखेको थिएँ, तेरो छातीमाथी सयपत्री फूल छरेको थिए ।’

साथी अब मुस्कुराउन बन्द गर्छ, मलाई एकटक निहार्छ ।

यतिकैमा मेरो ‘स्ट्रीम अफ कन्सिअसनेस’ फितलो हुन थाल्दछ । अरू दुईचार पात्रहरू कोठाभित्र देखिन्छन् । सबैको हातमा उही कप, उही होल्डर । मेरा आँखा सम्मुख ती पात्रहरू आफैँ बातचीत गर्न थाल्छन् । सबै चिनेका, सबै मरेका । मृतकहरूका सपनाहरूमा म मिसिन्छु, मेरो सपनामा उनीहरू मिसिन्छन् । म मेरो कपतर्फ दृष्टि फ्याँक्छु । मेरो कपको होल्डरमा पनि रङ्गिन फूलहरू कुदिँएका छन् । म एकदम हल्का महसुस गर्दैछु ।

सायद म ब्यूँझँदै छु– कुनै रङ्गित बगैंचामा ।

प्रतिकृयाहरु
Loading...