कोरोनाको उपचारमा नीजि क्षेत्रलाई सरकारले प्रतिबद्धता अनुसार साथ दिएन

विराटनगर । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले गएको भदौ ४ गतेबाट नै कोरोना संक्रमितको उपचार सुरु गरेको छ । अस्पतालले साधारण लक्षण देखिएका संक्रमितको उपचार गर्नका लागि ६० शैयाको होल्डिङ सेन्टर समेत बनाएर उपचार सुरु गरेको छ ।

अस्पतालमा २२ आइसीयु बेड छन् । मध्ये १२ वटा भेन्टिलेटर सहितका भने १० वटामा भेन्टिलेटर नरहेको अस्पतालले जनाएको छ । हाल अस्पतालमा १५० जनरल वार्ड रहेकाे छ । ती सबैमा काेराेना संक्रमितको उपचार हुने गरेको अस्पतालका डाईरेक्टर अफ कम्युनिकेशन एण्ड मार्केटिङ (हेड अफ ओपिडी) आभास श्रेष्ठले बताए ।

हाल २ जना कोराना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको र १५ जना संक्रमितलाई आइसीयुमा राखेर उपचार गरिरहेको श्रेष्ठको भनाइ छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पताल बिच कोरोना संक्रमितलाई उपचार गर्न सम्झौता भएपछि भदौ २२ गतेबाट कोरोना संक्रमितको निःशुल्क उपचार थालिएको हो ।

सरकारसँगको सम्झौता अनुसार कोरोना संक्रमित बिरामीको हेरचाह, उपचार तथा स्वास्थ्य अनुकूल खानपान समेत निःशुल्क रहेको छ । अस्पतालले कोरोना संक्रमितको स्याहार-सुसार र उपचारमा कुनै कमी हुन नदिएको श्रेष्ठले दाबी गरे । ‘कोरोना संक्रमितहरुको तहगत केस अनुसार अस्पतालले उपचार तथा स्याहार–सुसार गरेको छ ।’

यद्यपि, श्रेष्ठले कोरोना संक्रमितको उपचार गरे वापत सरकारले आर्थिक सहायता दिने सम्झौता भएपनि हालसम्म सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएको बताए । उनले भने, ‘सरकारसँग गरेको सम्झौता अनुरुप अहिलेसम्म कोरोना संक्रमित बिरामीहरुको उचित हेरचाह साथै उपचारमा अस्पतालको तर्फबाट कुनै कमि हुन नदिए पनि सरकारबाट भनेजस्तो साथ र सहयोग पाइएको छैन ।’

अहिलेसम्म संक्रमित बिरामीहरुको उपचारमा अस्पतालले तीन करोड खर्च गरिसकेको छ । कोरोना संक्रमितको उपचारमा लागेको खर्चमा सरकारले साथ दिने प्रतिबद्धता जनाए पनि हालसम्म सरकार मौन रहेको उनको भनाइ छ ।

नीजि क्षेत्रमा विराट मेडिकल कलेजले पहिलो पटक कोरोना संक्रमित बिरामीको उपचारका लागि वार्ड सञ्चालनमा ल्याउँदा सरकारले जुन हौसला र प्रतिबद्धता दिएको थियो अहिले त्यो प्रतिबद्धता हौसलामै सिमित भएको अस्पतालको भनाइ छ ।

अस्पताल कोभिड अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरुको स्वास्थ्यप्रति सजग छ । त्यसका लागि विशेष सावधानी अपनाएर रुटिन बनाइएको छ । ‘कोभिड अस्पतालमा स्वास्थ्यकर्मी खटिने अवधि दुई हप्ताको हुन्छ, त्यसपछि उहाँहरु काम गर्ने सिलसिलामा संक्रमित हुनुभयो भने आइसोलेसनमा बस्नुहुन्छ, सुरक्षित भए घर फर्कनुहुन्छ । संक्रमित भएको अवस्थामा पनि हामीले उहाँहरुको स्वास्थ्योपचारका लागि यथोचित व्यवस्थापन गरेका छौँ,’ श्रेष्ठले भने ।

अस्पतालले कोरोना संक्रमितको उपचारका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई इच्छाविपरित कहिल्यै खटाएको छैन । चिकित्सक, नर्स तथा कर्मचारीहरुको इच्छा अनुसार मात्र काममा लगाइएको छ ।

कोरोना संक्रमित बिरामीको उपचार, रेखदेखमा खटिएका कर्मचारीको आत्मबल बढाउन समयमा नै पारिश्रमिक, अतिरिक्त भत्ता र सुविधा दिनुपर्दछ, साथै पिपिइ, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध गराउनुपर्ने हुन्छ । तर, सरकारी तवरबाट नीजि क्षेत्रलाई सहयोग नहुँदा भने सकस पर्न जान्छ ।

कोरोनाका बिरामीहरुको हेरचाहकालागि खटिने चिकित्सक, कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु अहिले नीजि क्षेत्रको लागि चुनौतिको विषय हो । ‘यो चुनौतीपूर्ण अवस्थामा स्वास्थ्यकर्मी, कर्मचारीहरुको मनोबल बढाउँदै काम गर्न सरकारसँगको सहकार्य अपरिहार्य छ तर, सरकारी तवरबाट हामीहरुले भनेजस्तो हौसला र साथ पाएनौँ ।’ श्रेष्ठ भन्छन् ।

अस्पतालले पछिल्लो समय कोरोना संक्रमित बिरामीको उपचारका लागि एन्टि भाइरल औषधीको प्रयोगबाट उपचार गरिरहेको छ । उक्त रेमडिसिभिर औषधी नेपालमा उपलब्ध नभएकाले भारतबाट मगाउनुपर्ने अवस्था छ ।

उक्त एन्टि भाइरल औषधी नेपालमा उपलब्ध भएदेखि नेपालको सम्पूर्ण कोभिड अस्पतालकालागि सहज हुने श्रेष्ठको भनाइ छ । उनले भने, ‘अहिले हाम्रोमा एन्टि भाइरल औषधी रेमडेसिभिरको सप्लाई सकिएको छ, आफ्नै नीजि फार्मेसीबाट जसोतसो मिलाइरहेका छाैँ ।’

उक्त औषधीको सप्लाई र मूल्यको कुनै ठेगान भएकोले सरकारले यस्तो संवेदनशील विषयलाई ध्यानमा राखेर उचित मूल्य निर्धारण गरेर सप्लाई गरिदिए संक्रमित बिरामीहरुको उपचारका लागि राहत हुने अस्पतालको भनाइ छ ।

प्रतिक्रिया