यी हुन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका भिसीले करारमा नियुक्ति गरेका कर्मचारीहरू

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले चार वर्षमा ६–७ महिना भन्दा बढि कार्यालय गएनन् । प्रतिष्ठानको शिक्षा, स्वास्थ्यका कुनैपनि विषयमा चासो दिएनन् । यो चार वर्षमा डा. वाग्लेले मात्र राजधानीको सम्पर्क कार्यालयमा आफन्त र नातागोतालाई जागिर खुवाउने काम मात्र गरेका छन् ।

चार वर्षको अवधिमा कर्णाली प्रतिष्ठानमा जागिर खाएका अधिकांश कर्मचारीहरु करारमा लिइएको छ । नेपाल सरकारले ५० प्रतिशत अनुदान दिने निकायहरुमा अनिवार्य लोकसेवा आयोगबाट स्थायी कर्मचारी लिनुपर्ने प्रावधान छ । तर, कर्णालीका उपकुलपतिले लोक सेवा आयोगको नियमलाई समेत धोती लगाउँदै डेढ सय बढि कर्मचारीलाई करारमा नियुक्ति र बढुवा गरेको प्रतिष्ठानका कर्मचारी प्रशासनका एक कर्मचारीले भने ।

तत्कालिन स्वास्थ्यमन्त्री गगन थापाको सिफारिसमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति पुष्पकमल दाहालले डा. वाग्लेलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।

प्रतिष्ठानमा दुई/दुई वटा डीन हुँदा हुँदै असोज २६ गते पुनः जनस्वास्थ्य संकायको डीन नियुक्ति गरेपछि चर्को विरोध भइरहेको छ । हिजो नै प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासन र शैक्षिक प्रशासनमा अनिश्चितकालिन तालावन्दी गरेको छ । डीन नियुक्ति तत्काल फिर्ता लिन र यस अघि अनैतिक रुपमा नियुक्त भएकाहरुलाई समेत बर्खास्त गर्न माग गर्दै समाजले चेतावनी दिएको छ ।

यी हुन् उपकुलपतिले करारमा राखेका कर्मचारीहरु !

उपकुलपतिले नियुक्ति गरेका कर्मचारी डीनदेखि प्रोफेसर, सहायक प्रोफेसर, ल्याब टेक्निसियन, मेडिकल अफिसर, डेन्टल सर्जन तथा सामान्य प्रशासनका कर्मचारी समेत छन् ।

प्रतिष्ठान स्रोतका अनुसार डीन रेशम बहादुर राना लाई समेत उपकुलपतिले करारमा राखेका छन् । एशोसिएट प्रोफेसर डा. निरेश थापा, डा. रमेश भट्टराई, रविन खापुङ, डा. अर्जुन तिवारी, डा. सुर्यमान मेन्याङ्वाे, डा. हरिहर देवकाेटा, डा. मानिक न्याैपाने तथा डा. अनुस्मृति पाल वाहेक अन्य करारमा छन् । ‘उहाँसँग कोही नजिक भयो भने पदोन्नति हुन क्षमता र योग्यता चाहिँदो रहेनछ । सेवा सुविधा समेत बढाएर काम दिने गर्नुहुन्छ । उहाँलाई लोक सेवा आयोग भन्ने थाहै रहेनछ ।’ एक कर्मचारीले भने ।

प्रतिष्ठानका कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रमाकान्त उपाध्यायले डेढ सय बढिलाई उपकुलपतिले भर्ना गरेको बताए । ‘प्रक्रिया पुर्याएर गरेको भए हामीलाई आपत्ति थिएन, उहाँले प्रतिष्ठानलाई भर्ती केन्द्र बनाउनु भयो, सम्पर्क कार्यालयमा बसेर कर्णालीका जनताको नाममा कमाउ धन्धा चलाउनु भयो ।’ अध्यक्ष उपाध्यायले भने ।

उनले गैरकानुनी तवरले नियुक्ति पाएकाहरुलाई बर्खास्त नगरेसम्म तालावन्दी नखोलिने जिकिर गरे । प्रतिष्ठानको शैक्षिक तथा प्रशासनीक कार्यालयमा तालावन्दी गरिएपछि कार्य प्रभावित भएको छ ।

हेर्नुहोस् करारमा नियुक्त भएका कर्मचारीहरु

नाेटः तल उल्लेखित नाम हरू मध्ये एशोसिएट प्रोफेसर डा. निरेश थापा, डा. रमेश भट्टराई, रविन खापुङ, डा. अर्जुन तिवारी, डा. सुर्यमान मेन्याङ्वाे, डा. हरिहर देवकाेटा, डा. मानिक न्याैपाने तथा डा. अनुस्मृति पाल स्थायी चिकित्सकहरू हुन् । 

 

केहि नामहरू फरक परेकाे हुनाले पुनः सम्पादन गरिएकाे छ ।  सम्पादकः 

प्रतिक्रिया