कर्णाली समस्या : मुख्यमन्त्रीसहित प्रदेशका पदाधिकारी काठमाडौं आउँदै

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित पार्टीका प्रदेश कमिटीका पदाधिकारी केन्द्र (काठमाडौं) आउने भएका छन् । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार उनीहरु काठमाडौं आउन लागेका मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बीसीले जानकारी दिए ।

मुख्यमन्त्री शाही बुधबार (आज) बेलुकीसम्म काठमाडौं आइपुग्ने सल्लाहकार बीसीले बताए । उनका अनुसार त्यसका लागि आज बिहानैदेखि मुख्यमन्त्री शाही छलफलमा जुटेका छन् ।

काठमाडौं आउने टोलीमा मुख्यमन्त्रीसँगै आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसमेत छन् । यसैगरी प्रदेशका सह–इन्चार्ज एवंं प्रदेश सभा सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मासमेत काठमाडौं आउने भएका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध गत आइतबार नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव संसदीय दलमा दर्ता गराएपछि अहिले विवाद चलिरहेको छ । यद्यपि पनि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले मुख्यमन्त्री शाहीलाई सघाएपछि अविश्वासको प्रस्ताव असफल भएको छ ।

मुख्यमन्त्री शाहीले निलम्बन गरेका गुलाबजङ्ग शाहीले बोलाएको संसदीय दलको बैठकमा १८ जनामध्ये ११ जना मात्रै सहभागी भएका थिए ।

 

प्रतिक्रिया