‘जातकाे प्रश्न’ लाई लिएर विवादमा मुछिए राजेश हमाल

काठमाडौं । नेपाली चलचित्र जगतका एक हस्ती हुन अभिनेता राजेश हमाल । राजेशले केहि समयदेखि यता सञ्चालन गर्दै आएको ‘जातको प्रश्न’ नामक कार्यक्रम अहिले विवादित बनेकाे छ ।

नेपालमा सदियौदेखि हुने गरेका जातीय विभेद र छुवाछुतका घटनाहरूलाई न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त कार्यक्रमका कारण अभिनेता हमाल विवादमा परेका हुन् । क्रिश्चियनको लगानीमा हिन्दू धर्मावलम्बीहरूमाथि प्रहार भएको भन्दै हिन्दू समर्थकहरुले सोमबार अभिनेता हमालको फोटो जलाएका छन् ।

कान्तिपुर टेलिभिजनबाट हरेक शनिबार साढे ६ बजेबाट प्रशारण हुँदै आएको कार्यक्रम ‘जातकाे प्रश्न’ मा ‘क्रिश्चियन एड नेपाल’ को लगानी रहेको बुझिएको छ । क्रिश्चियनको लगानीमा निर्माण भएको कार्यक्रममा हिन्दूहरुलाई बदनाम गर्ने काम भएको भन्दै हिन्दू समर्थकहरुले हमालको विरोध गरेका हुन् ।

८० प्रतिशतभन्दा बढी हिन्दूहरुको बसोबास रहेको नेपालमा उनीहरुलाई नै बदनाम गर्ने गरी सुरु भएको कार्यक्रम तत्काल बन्द गर्नुपर्ने हिन्दू समर्थकहरुको माग रहेकाे छ । हमाललाई उनका शुभचिन्तकहरुले ‘पहिले बुझेर मात्र कार्यक्रम चलाउनुपर्थ्याे’ भन्दै कमेन्ट गरेको देखिन्छ ।

हिन्दू धर्मावलम्बीहरुलाई बदनाम गर्ने उद्देश्यले ‘जातकाे प्रश्न’ निर्माण गरेको भन्दै विरोध हुन थालेपछि समता फाउन्डेसनले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति पूर्वाग्रह राखिएको छैन ।’

प्रतिक्रिया