भेन्टिलेटरको विषयमा बुझ्न अख्तियारको टोली वीपी प्रतिष्ठानमा, अस्पताल निर्देशकसँग साेधपुछ !

धरान । कोरोना अस्पतालमा खरिद गरिएका भेन्टिलेटरका विषयमा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएको छ ।

हिजो सोमबार आयोगको इटहरी कार्यालयबाट चार जनाको टोली प्रतिष्ठान आएको हो । प्रतिष्ठान स्रोतका अनुसार उक्त टोलीले अस्पताल निर्देशक डा. गौरिशंकर शाहलाई भेट गरी आवश्यक सोधपुछ गरेका थिए ।

सोमबार दिउसो अढाई बजेतिर आएका आयोगका अधिकारीहरुले अस्पताल निर्देशक डा. शाहलाई भेट गरी कोरोना हस्पिटलको भेन्टिलेटर खरिदमा भएका फायलहरु माग गरेको स्रोतको दावि छ । उनीहरुले अस्पताल निर्देशकलाई एक पत्र समेत दिएका छन् ।

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काेभिड १९ अस्पताल । फाेटाे फायल

स्रोतले पत्र कुन व्यहोरा को हो प्रष्ट खुलाउन नसकेपनि भेन्टिलेटर विग्रनुको कारण, कुन सप्लायर्सबाट, कुन प्रक्रियाबाट खरिद गरिएको हो ? कति वटा भेन्टिलेटरले काम नगरेको आदि सोधपुछ गरेको दावि गरेको छ । ‘हिजो अढाई बजेतिर चार जनाको टोली आएका थिए । उनीहरुले हस्पिटल डाइरेक्टरलाई पत्र थमाउँदै एक डेढ घन्टा कुराकानी गरेर गएका छन् ।’ प्रतिष्ठान स्रोत भन्छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी एक साता यता काठमाडौंमा छन् । यस सम्बन्धमा कुरा गर्न सम्पर्क गर्दा फोन उठाएनन् ।

प्रतिष्ठानमा काम गर्न नसकेको भन्दै चर्को आलोचना खेप्दै आएका उनले स्वास्थ्यमन्त्री र प्रधानमन्त्री मिलाउन मेडिकल माफिया तथा नेकपाका नेताहरु गुहारिरहेको स्रोतको दावि छ । रक्षामन्त्री इश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइराला, विवादास्पद व्यापारी दीपक मल्होत्रालाई समेत प्रयोग गरेर उनी विवाद साम्ये पार्न सक्रिय छन् ।

कोरोना अस्पतालको नाममा विना टेन्डर करिब २ करोड ५० लाख मूल्यका विभिन्न स्वास्थ्य सामग्री खरिद गरिएकोमा ती सबै प्रक्रियामा करारमा नियुक्त गरीएका स्वकीय सचिव दिलिप भट्टराईको संलग्नता छ । संघीय सरकार तथा प्रदेश सरकारको साँढे १२ करोड बजेटमा वीपी प्रतिष्ठानको हाताभित्र १ सय वेडको कोभिड–१९ अस्पताल निर्माण गरिएकोमा प्रयोग भएका कोरोना स्वास्थ्य सामग्री र उपकरणमा भ्रष्टाचार गरेको आरोप छ । अख्तियारको इटहरी कार्यालयमा समेत उजुरी परेपछि आयोगले अनुसन्धान गरीरहेको छ ।

प्रतिष्ठानका उपकुलपतिका स्वकीय सचिव दिलिप भट्टराईले कोभिड अस्पतालमा व्यापारी र सप्लायर्ससँग मिलेर चरम भ्रष्टाचार गरेको भन्दै धरानका एक व्यापारीले पत्रकार सम्मेलन नै गरेका थिए । स्वकीय सचिवले सस्तोमा सामान खरिद गरेर तीन गुणा महंगोमा विल बनाएर पेश गरेको आरोप छ ।

प्रतिष्ठानले भेन्टिलेटर खदिर गर्न २५ महिना अगाडी नै टेण्डर आब्हान गरेको थियो । तर, भेन्टिलेटर खरिदमा भ्रष्टाचार भएको भन्दै आयोगमा उजुरी परेपछि खरिद प्रक्रिया रोकिएको थियो । भर्खरै ढिलो गरी खरिद गरिएको भेन्टिलेटरको लागत अनुमान भन्दा १५ लाख महंगो पर्न गएको स्रोतको दावि छ ।

प्रतिक्रिया